त्रिशूलीमा थप ४ शव फेला

429
shares

त्रिशूली नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।

शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् ।

यसअघि पाँच शव फेला परेको थियो । नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ ।

शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए ।

अहिलेसम्म अन्य यात्रु र बसको अवस्था पत्ता लाग्न सकेको छैन ।