झण्डै डेढ वर्ष सत्तामा रहेपछि मिलेको फुर्सदलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सदुपयोग’ गर्ने भएका छन् । आगामी केन्द्रीय समिति बैठक सकेर उनी देश दौडाहामा निस्कने भएका हुन् ।
२०७९ को आम निर्वाचनपछि सुरुमा संसदको दोस्रो ठूलो दल एमाले र पछि संसदको पहिलो ठूलो दल कांग्रेससँग मिलेर उनले डेढ वर्ष सरकारको नेतृत्व गरेका थिए । पछि एमाले र कांग्रेस नै मिलेपछि सरकारबाट बाहिरिएका उनले फुर्सदलाई जनता–पार्टी सम्बन्ध सुधार्ने प्रयासमा लगाउने भएका छन् । ३२ सिट भएको माओवादी संसदको तेस्रो ठूलो दल हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा उनले जनतासँग सम्बन्ध विस्तार गर्ने अभियानमा लाग्ने बताएका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘संगठन विस्तार, कार्यकर्तासँग छलफल र पार्टी रुपान्तरणको एजेण्डासहित अध्यक्ष कमरेड जनतामाझ जानुहुने छ’, माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले भने ।
प्रचण्डसँग पार्टीका अन्य नेता पनि देश दौडाहामा निस्कने छन् । सत्तामा रहँदा जनतासँगको सम्बन्ध विच्छेदकै तहमा पुगेको भन्दै बैठकमा नेताहरूले जनतासँगको सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । सापकोटाका अनुसार, माओवादी केन्द्रले सरकारमा रहँदा गरेका राम्रा कामको प्रचार पनि यस अवसरमा गर्ने छ ।
साउन २५ गते स्थायी कमिटी बैठक बोलाएको माओवादी केन्द्रले त्यसपछि केन्द्रीय समिति बैठक डाक्ने तयारी गरेको छ ।