विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइने यो दिवसमा स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिन्छ ।
यसै सन्दर्भमा आउनोस्, जानौं स्तनपानको महत्त्व, आमा र बच्चाको स्वास्थ्यमा यसको भूमिकालगायतबारे ।
नवजात शिशुको समग्र विकासमा स्तनपानको भूमिका अहम् हुने कुरा हामीमध्ये धेरैलाई थाहै हुनुपर्छ । ठ्याक्कै तथ्याङ्क त छैन तर अनुभवी चिकित्सकका अनुसार, ‘फिगर’ बिग्रने चिन्ताले अचेल कैयौँ महिला आफ्नो बच्चालाई स्तनपान गराउँदैनन् । कोहीचाहिँ जागिर वा यस्तै व्यस्तताका कारण बच्चालाई आफ्नो दूध खुवाउँदैनन् । स्तनपानकाे साटो बच्चालाई गाईको दूध वा अन्य प्रोटिन खुवाउने चलन बढ्दो छ ।
यसो गर्नु आमा र बच्चा दुवैका लागि हानिकारक हुने विश्व क्यान्सर अनुसन्धान कोषले जनाएको छ । किनकि, स्तनपान बच्चालाई मात्र होइन, आमाको स्वास्थ्यका लागि पनि फाइदाजनक छ । फिगर बिग्रने वा अर्को कामका लागि समय नपुग्ने चिन्ताले स्तनपान नगराउँदा बच्चाको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कालान्तरमा आमासमेत स्तन क्यान्सरसहित विभिन्न रोगको सिकार हुन सक्छिन् ।
स्तनपानका फाइदै फाइदा
प्रकृतिले प्राणीलाई जीवन र जगत् बचाई राख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर, भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ । आमाको दूध शिशुको विकासात्मक आवश्यकताअनुरुप हुन्छ । जति मात्रामा शिशुलाई प्रोटिन, भिटामिन तथा खनिजको आवश्यकता हुन्छ, त्यति नै मात्रामा आमाको दूधमा ती तत्त्वहरू रहेका हुन्छन् ।
शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दूधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दूधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु बिस्तारै अन्य खानाहरू खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दूध पनि घट्दै जाने हुन्छ । त्यसैले आमाको दूध शिशुका लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दूधजस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाइँदैन । आमाको दूध अमृतसमान हो ।
आमाको दूधका विशेषता
● आमाको दूधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोब्युलिन (immunoglobulin) जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दूधमा पाइँदैन ।
● आमाको दूधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रासमेत रहेको हुन्छ ।
● आमाको दूध सुरक्षित हुन्छ र यसमा रोगका किटाणुहरूले आक्रमण गर्न पाउँदैनन्, किनकि यो आमाको स्तनबाट सधैँ शिशुको मुखमा जान्छ ।
शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दूधमा रहेको अक्सिटोसिन हर्माेन (oxytocin hormone) निस्केर आमाको दूध आफैँ बग्न थाल्छ ।
● स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबीच बलियो सम्बन्ध स्थापित हुन्छ । स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।
● आमाको दूध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक साेच, पोषण र आरामले गर्दा दूध प्रशस्त बन्छ ।
स्तनपानका लागि आमा
शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्छ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्दछ । आमाको दूधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनुपर्दैन ।
६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाका साथै कम्तीमा दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ । सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोसिलो खाना खाएमा आमाको दूध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खानेकुरा (अन्न, गेडागुडी, हरिया सागपात तरकारी तथा फलफूल, पशुपन्छीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्ने चिन्ता लिने, धूमपान तथा मद्यपान गर्नु हुँदैन ।
● स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ ।
● स्तनपान गराउँदा शिशुले आमाको भावना बुझ्ने हुनाले, आमाले खुसी हुने, हाँस्दै रमाउँदै, जिस्कँदै खुवाउनुपर्छ । जसले गर्दा शिशु पनि खुसी हुने र आमाको दूध प्रशस्त आउने हुन्छ ।
स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू
● स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्छ । सफा र खुकुलो लुगा लगाउनुपर्छ ।
● आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको सी) आकारमा समात्नुपर्दछ । बुढीऔंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरू औँला स्तनको तल्लोपट्टि हुनुपर्छ ।
●शिशुलाई काखमा राख्ने र शिशुको ढाड र टाउको अलिकति अर्को हातमाथि राखेर अलि उठाउनुपर्छ र दूध चुसाउनुपर्छ ।
● दूध चुसाउनुपहिले शिशुलाई स्तनमा ओठले, हातले चलाउन उत्प्रेरित गर्ने जसले गर्दा दूध पग्रन्छ र शिशुले दूध चुस्न मिहिनेत गर्नु पर्दैन ।
● स्तनपान गराउँदा एकपटकमा एकापट्टिको दूध पूर्ण खाली हुने गरी खुवाउनुपर्छ । अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ, जसले गर्दा पूर्ण स्तनपान हुन्छ । दुवैतिरको आधाआधा खुवाउँदा दूधमा भएको पानीको मात्रा मात्र शिशुले खाने हुनाले शिशुले आवश्यक पूर्ण पोषण पाउन सक्दैन ।
● शिशुले जति दूध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दूध बन्दछ ।
● दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्नेबित्तिकै वान्ता गर्दैन ।
● सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोसिलो खाना खानुपर्दछ, जस्तैः दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।
● सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानुपर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।
● सुत्केरी भएको ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानुपर्छ ।
● दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनको मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्पर्क गर्नुपर्छ ।
● शिशु बिरामी छ भने पनि बारम्बार दूध खुवाउनुपर्छ । शिशुले आमाको दूध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
● स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्छ ।
● एचआईभी सङ्क्रमित आमाले स्वास्थ्यकेन्द्रमा सम्पर्क गर्नुपर्छ । सङ्क्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई मात्र स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ ।
● एचआईभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै, नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्छ ।
स्तनपान गराउने उपयुक्त आसन तथा सम्पर्क
● बालबालिकाकाे शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्छ ।
● बालबालिका आमासँग टाँसिएको हुनुपर्दछ ।
● आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।
● बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
.● स्तनको कालो भाग सबै बालबालिकाको मुखभित्र पसेको हुनुपर्छ ।
● बालबालिकाको तल्लो ओठ बाहिर फर्केको र मुख पूरा खुलेको हुनुपर्छ ।
स्तनपानबाट शिशु र आमामा हुने फाइदाहरू
स्तनपानबाट आमा र शिशुमा हुने अनगन्ती फाइदाहरू छन् । यी मध्ये केही फाइदाहरू यसप्रकार छन् :
शिशुमा हुने फाइदाहरू
● शिशुको मृत्यु हुने जोखिम न्यून हुन्छ ।
● स्तनपान गर्न पाएका शिशुमा रोगबाट प्रतिरक्षा शक्ति उच्च हुन्छ ।
● बिरामी परेमा अरूलाई भन्दा छिटो निको हुन्छ । बालबालिकामा संवेग व्यवस्थापन वा सन्तुलन गर्ने क्षमतामा उच्च हुन्छ र मानसिक समस्यामा कमी हुन्छ ।
● बौद्धिक परीक्षणमा उच्च क्षमता देखिएको छ ।
● विद्यालयको सिकाइ दर उच्च हुन्छ ।
● भविष्यमा मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगहरू कम मात्रामा हुन्छ । साथै, दाँतसम्बन्धी समस्याहरू हुने सम्भावना कम हुन्छ ।
आमामा हुने फाइदाहरू
● स्तनपान गराउने आमाहरूमा। पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
● स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।
● आमालाई आराम र आनन्द महसुस हुन्छ, जसले मानसिक तनाव हुँदैन ।
● आफ्नो र शिशुको सकारात्मक सम्बन्ध भएकोमा सन्तुष्टि हुन्छ ।
शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउन शिशको अधिकार हो, जसलाई परिवार र राज्यले आमाले शिशुको हक सुनिश्चित गर्नुपर्दछ । राज्यले पनि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दूधको विकल्पमा अन्य दूध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ । यस अधिकारलाई सुनिश्चित गर्न परिवारले निम्न भूमिका खेल्नुपर्छ ।
बिगौती दूध शिशुका लागि खोपसरह हो । यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दूध खुवाउनुपर्छ । सुत्केरीलाई आराम गर्ने कामको बोझ कम गर्नमा परिवारको ठूलो भूमिका हुन्छ । श्रीमान्ले विशेषतः काममा सघाउने, श्रीमतीलाई माया, विश्वास र आराम दिनुपर्छ ।
● ६ महिनासम्म आमाको दूधमात्र खुवाउन सहयोग गर्ने र ६ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दूधसँगै पूरक खाना पनि खुवाउन सहयोग गर्नुपर्छ ।
● आमालाई दैनिक ५ किसिमका खानाहरू अन्य अवस्थामा भन्दा थप २ पटक खुवाउनुपर्छ ।
असल अभ्यासहरू
● आमा र शिशुलाई तेल मसाज गर्दा, आमाको दूध बन्न सहयोग हुन्छ भने शिशुको पाचन शक्ति बढ्छ ।
● आमालाई माइत पठाउने वा सुत्केरी बस्ने चलनले आमालाई मानसिक सुरक्षा तथा आराम हुनाले दूध बन्न सहयोग हुन्छ ।
जान्नैपर्ने तथ्यहरू
बिगौती दूध शिशुका लागि खोपसरह हो। यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दूध खुवाउनुपर्छ ।
● आमाको दूधमा रोगहरूसँग लड्न सबै पोषक तत्त्वहरू तथा पानीको मात्रा पनि सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दूधमा पाइँदैन ।
● आमाको दूध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दूध प्रशस्त बन्छ ।
● शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्छ । जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ ।
● सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोसिलो खाना खाएमा आमाको दूध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना खानुपर्छ ।
● दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्पर्क गर्नुपर्छ ।