
गत वर्ष ७ अक्टोबरको आक्रमणका योजनाकार मानिएका हमास नेता इस्माइल हनियालाई उनकै सहयोगी देश इरानको राजधानी तेहरानमै छिरेर इजरायलले मारिदिएसँगै पश्चिम एसियामा खतराको घण्टी बजेको छ ।
इजरायलले अहिलेसम्म आक्रमणको आधिकारिक पुष्टि नगरे पनि हमासले यो काम इजरायलले नै गरेको दाबी गरेको छ ।
इजरायलको गुप्तचर संस्था मोसादले यस्तो कारबाहीलाई सफल पारेको छ, जुन इरानका प्रमुख पाहुनामध्ये एकलाई मार्नका लागि राजधानी तेहरानभित्र चलाइएको थियो । हमासका शीर्ष नेता हनियाको हत्या इरानका लागि ठूलो लज्जाको विषय हो । केही महिनाअघि मात्र इरानका राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुलाहियानसहितका उच्च अधिकारी हेलिकोप्टर दुर्घटनामा मारिएका थिए ।
अहिले नयाँ राष्ट्रपति मसुद पेजेश्कियानको पदभार समारोहमा सहभागी भएर फर्केका हनिया आफू बसेकै घरमा मिसाइल आक्रमणमा मारिए । हनिया हत्याको बदलामा इरानले इजरायलमाथि सिधा आक्रमण गर्न सक्ने आशंका गरिँदै छ । बीबीसीका अनुसार, इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले विज्ञप्तिमा भनेका छन्, ‘निसन्देह यी प्रसिद्ध योद्धाको शुद्ध रगत, जसले उत्पीडित प्यालेस्टाइन राष्ट्रलाई जायोनी कब्जाको चंगुलबाट मुक्त गराउन अभियान चलाए, उनको योगदान कहिल्यै व्यर्थ जाने छैन ।’
उनले ‘हनियाको शुद्ध रगत’लाई त्यसै खेर जान नदिने भनेर हत्याविरुद्ध कडा कदम चाल्ने संकेत गरेका छन् ।
हमासका एक वरिष्ठ अधिकारी मुसा अबु मरजोकले आक्रमणलाई कायर हर्कत भन्दै बदला लिने बताएका छन् । हनिया कतारमा बस्दै आएका थिए । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर अर्थात् आईआरजीसीका अनुसार, हनियासँगै उनका सुरक्षाकर्मी पनि मारिएका छन् ।
गत १० अप्रिलमा इजरायलकै आक्रमणमा हानियाले आफ्ना तीन छोरा हाजम, आमिर, मोहम्मद अनि चार नातीनातिना गुमाएका थिए, यसको ३ महिना २० दिनपछि उनले ‘इजरायलकै मिसाइल’बाट ज्यान गुमाए । परिवार गुमाएपछि कतार बस्न थालेका उनी प्यालेस्टाइनको इस्लामिक उग्रवादी समूह हमासको राजनीतिक विभाग प्रमुख थिए ।
हनियाको जन्म १९६२ मा गाजाको पश्चिमी क्षेत्रस्थित एक शरणार्थी शिविरमा भएको थियो । उनका आमाबुबा सन् १९४८ मा अरब–इजरायल युद्धका क्रममा आफ्नो घर छोडेर हिँडेका थिए । इस्लामिक युनिभर्सिटी अफ गाजामा अरबी साहित्य अध्ययन गरेका उनी त्यहीँबाट इस्लामिक आन्दोलनसँग जोडिएका थिए । हनियालाई सन् १९९३ मा गाजाको इस्लामिक विश्वविद्यालयको डीन नियुक्त गरिएको थियो ।
हमासका संस्थापक अहमद यासिनलाई सन् १९९७ मा इजरायलले छोड्यो । यसपछि हनिया उनको सहायक नियुक्त भए ।दुवैबीच घनिष्ठतासँगै हमासभित्र हनियाको कद पनि बढ्दै गयो । पछि उनी प्यालेस्टाइनी प्राधिकरणमा हमासको प्रतिनिधि बने ।
सेप्टेम्बर २००३ मा गाजाको एक भवनमा इजरायली हवाई आक्रमणमा हनिया र अहमद यासिन सामान्य घाइते भएका थिए । बम खस्नुभन्दा केही सेकेन्डपहिले दुवै जना भवनबाट बाहिर निस्केका थिए । केवल केही सेकेन्डले उनीहरू बाँचेका थिए । यद्यपि, यसको ६ महिनापछि अहमद यासिनलाई मस्सिदमा नमाज पढेर बाहिर निस्कँदै गरेका बेला इजरायलले मारिदियो ।
हनिया सन् १९८० को दशकको अन्तिम वर्षतिर हमास आन्दोलनका प्रमुख नेता थिए । इजरायलले उनलाई सन् १९८९ मा तीन वर्षका लागि कैदमा राखेको थियो । उनलाई सन् १९९२ मा हमासका विभिन्न नेतासँगै मार्ज–अल–जुहुरमा निर्वासित गरिएको थियो । त्यो स्थान इजरायल र लेबनानबीचको उजाड क्षेत्र हो । यहाँ टाढाटाढासम्म कोही बस्दैन । उक्त ठाउँमा हनिया एक वर्ष बसे ।
एक वर्षसम्म निर्वासित रहेपछि उनी गाजा फर्किए । उनलाई सन् १९९७ मा हमास आन्दालनको आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालय प्रमुख नियुक्त गरियो । यसपछि गुटमा उनको स्थिति अझ बलियो बन्यो । गाजाबाट इजरायली सेना फिर्तीको एक वर्षपछि सन् २००६ मा प्यालेस्टाइनमा संसदीय चुनाव भयो । यसमा हमासले जित्यो ।
हनियालाई हमासले १६ फेब्रुअरी २००६ मा प्यालेस्टाइन प्राधिकरणको प्रधानमन्त्री उम्मेदवार बनायो । राष्ट्रपति महमुद अब्बासले उनलाई यस पदमा नियुक्त गरे तर एक वर्षभित्रै उनले पद गुमाउनुपर्यो । त्यो बेला एक सातासम्म गाजा क्षेत्रमा हिंस्रक घटनाका कारण हमासले महमुद अब्बासको पार्टीलाई बहिष्कार गर्यो । यसका साथै हनिया पनि प्रधानमन्त्री रहेनन् ।
यसपछाडिको कारण इज–अल–दीन अल–कासम ब्रिगेडले गाजाक्षेत्र कब्जा गर्नु थियो । उसले अब्बासको फहत आन्दोलनको प्रतिनिधिहरूलाई निकालिदियो । हनिया ६ मे २०१७ मा हमासको राजनीतिक ब्युरो प्रमुख चुनिए । तर, सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले उनलाई आतंकवादी घोषित गर्यो । पछिल्ला केही वर्षयता उनी कतारमै बस्थे ।
गाजामा इजरायली कारबाहीमा आफ्ना तीन छोरा गुमाएपछि इस्माइल हनियालाई अन्तर्राष्ट्रिय मञ्चमा हमास कूटनीतिका महत्त्वपूर्ण अनुहारका रूपमा हेर्न थालिएको थियो । उनी बलियोसँग हमासको पक्ष लिन्थे ।
यद्यपि, कतिपय कूटनीतिज्ञले उनलाई हमासकै अन्य कट्टरपन्थी सदस्यको तुलनामा उदारवादी नेताका रूपमा चिन्थे । समाचार एजेन्सी रोयटर्सका अनुसार, गत वर्ष ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गरेपछि हनियाले कतारी मिडिया हाउस अल जजिरासँग कुराकानीमा भनेका थिए, ‘सम्बन्ध सामान्य पार्न आफ्ना ९अरब देश०, उसको ९इजरायल०सँग जुनसुकै सम्झौतामा हस्ताक्षर गरिए पनि यो संघर्षलाई समाप्त गर्न सक्दैन ।’
इजरायलले गाजामा सुरु गरेको जवाफी कारबाहीलाई ‘सैन्य अभियान’ भनियो । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयको भनाइमा अहिलेसम्म इजरायली आक्रमणमा ३८ हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
यसै वर्ष मेमा अन्तर्राष्ट्रिय अपराध अदालतका प्रोसिक्युटर अफिसले हनियासहित हमासका तीन नेताविरुद्ध पक्राउ पुर्जी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधका लागि गिरफ्तार गर्न माग गरेको थियो ।
हमासविरुद्ध इजरायली आक्रमणको चपेटामा हनियाको परिवार पनि पर्यो । उनका छोराहरूले हमासका लागि काम गरिरहेको इजरायलको दाबी थियो । तर, हनियाले यसलाई इन्कार गरेका थिए ।