अविरल वर्षाका कारण सरकारी कार्यालयमै डुबान सेवाग्राहीलाई सास्ती

728
shares

साउन, काठमाडौं। काठमाडौंमा भएको वर्षाले लैनचौरस्थित केशरमहल क्षेत्र डुबानमा परेको छ। केशरमहलस्थित नीति अनुसन्धान प्रतिष्ठान लगायतका (राहदानी विभागको पुरानो कार्यालय) कार्यालय अगाडिको भाग जलमग्न छ ।

नारायणहिटीमा राष्ट्रिय परिचय पत्र तथा पञ्‍जीकरण विभाग,  नेपाल पञ्‍चाङ्ग निर्णायक समितिको कार्यालय,  नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरी नारायणहिटी सुरक्षा गुल्म कार्यालय रहेका छन् ।

पानीले निकास नपाउँदा सेवाग्राहीहरु, ड्युटीमा खटिएका प्रहरी र कर्मचारीहरुसमेत समस्यामा परेका छन् । सेवाग्राहीहरु हातमा जुत्ता बोकेर आउ–जाउ गर्न बाध्य छन् । कतिपयले आफन्तलाई बोकेकोसमेत देखिएको छ ।

सोमबार अपराह्नदेखि काठमाडौंमा पानी पर्न सुरु गरेको थियो । मंगलबार मध्याह्नसम्म पानी परिरहेको थियो । अहिले भने पानी पर्न रोकिएको छ । तर होचा भूभागमा जमेको पानीले निकास पाएको छैन ।

वर्षाका कारण माइतीघर, रामशाहपथ, पुतलीसडक, लैनचौर, सोल्टीमोड, स्वयम्भु लगायतका स्थान र बागमती नदी कोरिडोर क्षेत्रमा पानी जम्दा सवारी आवागमन समेत प्रभावित भएको थियो ।