‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, रास्वपाबाट निष्काशन गर्ने अधिकार क्लबलाई छैन’: मुकुल ढकाल

  • रास्वपाले कारबाही गरेपछि मुकुल ढकालले दिए यस्ताे प्रतिक्रिया
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यबाट पनि हटाएपछि संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि अर्को आक्रोश पोखेका छन्। उनले आफूलाई रविको क्लबबाट मात्र निष्कासित भएको दोहोर्याउँदै पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई नभएको बताएका छन्।
    सामाजिक संजालमार्फत उनले बरु उल्टै सभापति रवि नैतिक रुपले पतित भएको भन्दै राजीनामा मागेका छन्। उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन। न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ। नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टि गर्दै जानेछ।’
    ढकालले थपेका छन्, ‘र अर्को कुरा, सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका छन्, आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्। यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन्। सम्बन्धित निकायको ध्यान जाओस्। र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन।’
    रास्वपाको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट समेत हटाएको हो। यसअघि दुई पटक स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण नभई कुण्ठा ठहर गर्दैै रास्वपाले उनलाई साधारण सदस्यबाट पनि हटाएको हो। यसअघि २५ असारमा बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation