![](https://newsinnepal.com/wp-content/uploads/2024/09/MG_0153_copy-1725526307.jpg)
पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महँगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ ।
हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए ।
कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।
अन्य दिनमा बिहान ४ बजेदेखि दर्शनको लागि चारै ढोका खोलेपनि तीजको लागि भने बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुल्ला गरिने भएको छ । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रूपमा नरोकिने प्रवक्ता अधिकारीले बताए ।तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।