व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै सङ्घीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । तथापि, यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । काठमाडौँ–तराई फास्ट ट्र्याक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ । बन्दरगाह सञ्चालनकै विषयमा नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग नेपाल न्यूज बैंककी सुश्मिता वानियाले गरेको कुराकानी :
यति बेला चोभार सुख्खा बन्दरगाहले के-के सेवा दिइरहेको छ ?
चोभार सुख्खा बन्दरगाहले व्यापार सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्छ । चोभारमा कसैले पनि व्यापार सम्बन्धी गाडी सुरक्षित पार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौँ । ट्रेडसँग सम्बन्धित सामानहरू गोदाममा सुरक्षित राख्छु भन्नेहरूका लागि गोदामको सुविधा दिन्छौ । कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनि त्यो सुविधा उपलब्ध गराउँछौँ ।
बन्दरगाह सञ्चालनको अवस्था के छ ?
अहिले नेपालभर आठ वटा बन्दरगाह सञ्चालनमा छन् । त्यसमध्येको चोभार सुख्खा बन्दरगाह पनि एक हो । बन्दरगाहबाट वार्षिक डेढ करोड रुपैयाँ कमाइरहेका छौँ । अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाह वीरगन्ज हो भने सबैभन्दा कम कमाइरहेको चोभार सुख्खा बन्दरगाहले हो । चोभारको आम्दानीको परिकल्पना काठमाडौँ–तराई द्रुतमार्गसँग गरिएको थियो । तर काठमाडौँ–तराई द्रुतमार्ग निर्माण हुन नसक्दा बन्दरगाहको आम्दानी कम भएको हो । तथापि चोभार अहिले कमाउन सक्ने स्थितिमा पुगेको छ र राज्यलाई कमाएर दिन सक्नु नै सफलता हो ।
सुख्खा बन्दरगाहको अवस्थालाई सफलता भनिरहनु भएको छ । तर आयात निर्यातको अवस्था चाहिँ कस्तो छ ?
हिजोआज प्रतिदिन जाँच पासको लागि चोभार सुख्खा बन्दरगाहमा दुई वटा कन्टेनर आउँछन् । निर्यात चाहिँ बन्दरगाह सुरु भएदेखि जम्मा ६ वटा कन्टेनर पठाएका छौँ । बन्दरगाहलाई अलिक भिन्न तरिकाले सञ्चालन व्यवस्थापन गरिरहेका छौ । अरू सात वटा भन्सार जाँच पासको मात्रै काम भइरहेको छ भने बन्दरगाहमा भन्सार जाँच पाससँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौँ । यसमा दुई थरीको बिजनेस छ । एउटा भनेको भन्सार जाँच पास र अर्को भनेको व्यापार–टे«ड सम्बन्धितको क्रियाकलापको लागि आधा भाग छुटाएका छौँ । आजको दिनमा भन्सार जाँच पासको लागि एकदमै कम सवारी साधन तथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमा एकदमै राम्रो व्यापार भइरहेको छ । दुइटा गोदाम अपुग भएकाले अर्को एउटा गोदाम थपिसकेको छौ । साना अरू दुइटा गोदामहरू थप निर्माण गरिसकेका छौँ । त्यहाँ अत्यधिक माग छ । जसले बन्दरगाहलाई चलायमान बनाउन सकेका छौँ ।
लजिस्टिक हबको अवधारणा र उद्देश्य चाहिँ कस्तो हो ?
लजिस्टिक हब विश्व बजारमा प्रख्यात छ । त्यसलाई हामीले पनि चोभारबाट सुरुवात गरेका हौँ । यो सफल पनि भयो । अहिले चोभारको मुख्य व्यापार भनेको लजिस्टिक हब नै हो । चीन र भारतको नाकाबाट आएका विद्युतीय सवारी साधनहरूको व्यवस्थापन भइरहेको छ । जसका कारण गोदाममा सामनहरु भरिभराउ भएको छ । त्यसै गरी यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधा पनि दिइरहेका छौँ । यस्तो सुविधा लजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरूप हो । सहज रूपमा व्यापारलाई सहजीकरण गरेर बन्दरगाहलाई चलायमान बनाइरहेका छौँ । राज्यलाई कमाउने ठाउँमा पुर्याइरहेका छौँ ।
आम्दानीको अवस्था चाहिँ कस्तो छ ?
पाँच वर्षका लागि निजी क्षेत्रलाई न्यूनतम तीन करोड रुपैयाँ छ । हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरू नआउँदा पनि निजी क्षेत्रले पाँच वर्षसम्मका लागि वार्षिक तीन करोड रुपैयाँ दिनुहुन्छ । र तोकेको थे्रसहोल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ । ६० प्रतिशत निजी क्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ । तर अहिले ट्राफिक फलो धेरै छ । पाँच वर्षमा आठदेखि दश करोड रुपैयाँ चोभार सुख्खा बन्दरगाहबाट आम्दानी गर्न सक्छौँ । त्यसमा हाम्रो एक रुपैयाँ पनि खर्च हुँदैन ।
निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिइसके पछिको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
अहिले आठ वटै सुख्खा बन्दरगाह निजी क्षेत्रलाई चलाउन दिइएको छ । नियमावली अनुसार पनि प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरेर सुख्खा बन्दरगाहहरू सञ्चालन व्यवस्थापन गर्ने गरिएको छ । कनट्र्याक्ट म्यानेजमेन्ट तथा नियमावलीसँग काम गर्ने भनेर प्रस्ट रूपमा भनिएको छ । युरोपियन देशहरूसँगै, भारतलगायतका बाह्य देशको अभ्यास हेर्ने हो भने पनि सुख्खा बन्दरगाहहरू निजी क्षेत्रहरूमार्फत पीपीमार्फत सञ्चालन, व्यवस्थापन भइरहेको छ । यो सफल पनि भइरहेको छ । निजी क्षेत्रको संलग्नताले सेवा स्तर पनि वृद्धि भएको छ । नेपाल सरकारलाई प्राप्त हुने राजस्व पनि बढिरहेको छ ।
चोभार सुख्खा बन्दरगाहकै कुरा गर्ने हो भने पनि राज्यबाट नेपाल ईन्टरमोडल यातायात विकास समितिमार्फत दुई वर्ष चलायौँ । त्यति बेला एकदमै कम बिजनेस थियो । मासिक १६ लाख रुपैयाँमा घाटामा थियौँ । आज निजी क्षेत्र आइसकेपछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ । बन्दरगाह सञ्चालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमा निजी क्षेत्रबाट सञ्चालनमा रहनु नै हो । यदि सरकारमार्फत नै सुख्खा बन्दरगाह सञ्चालन भएको थियो भने आजको जस्तो चलायमान हुने थिएन ।
सरकारमार्फत सञ्चालन भएको भए बन्दरगाह चलायमान हुने थिएन भन्नुभयो । यसका कारणहरू चाहिँ के हुन् ?
सरकारको निर्णय गर्ने प्रक्रिया एकदमै लामो छ । निजी क्षेत्र नाफाको लागि जति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन् । यो कुरा हामीले प्रस्ट बोल्नु पर्छ । लुकाउनु हुँदैन । निजी क्षेत्रले तुरुन्त निर्णय गर्छ । कसैलाई छुट नै दिनुपर्ने हो भने पनि तुरुन्त नै दिन्छ । राज्यको निर्णय प्रक्रिया यस्तो छैन । राज्यले छुट दिनुपर्यो भने भएका प्रक्रिया पूरा गर्दागर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइसक्छ ।
त्यसो भए चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन हुनमा के ले रोकिरहेको छ ?
चोभार सुख्खा बन्दरगाहलाई दुई भागमा छुटाएका छौँ । आधा भागमा भन्सारका जाँच पासका काम गर्छौ भने आधा भागमा लजिस्टिक हबको काम गर्छौँ । लजिस्टिक हबमा व्यापार सम्बन्धी सबै काम गरिन्छ । लजिस्टिक हबलाई ठाउँ अपुग नै भइसकेको अवस्था छ । तर, फेरि भन्सारमा सवारी आगमन अझ कम नै छ । त्यसको कारण भनेको फास्ट ट्र्याक नबनेर हो । अहिलेसम्म भारतको नाकाबाट मात्रै भन्सार जाँच पास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभागमार्फत चीनको तातोपानी र रसुवा नाकाबाट पनि सिधै चोभार सुख्खा बन्दरगाहमा सामान ल्याउँछु भन्नेहरूलाई पनि त्यो सुविधा लागु भइसकेको छ । यसले गर्दा भन्सारतर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ । बन्दरगाहमा भन्सार जाँच पास गराउने सुविधा छ ।
भारतकै नाकाबाट आउने सामानहरू चोभारसम्म चाहिँ किन आइपुग्दैनन् ?
चोभार व्यवसायीहरूका लागि विकल्प हो । चोभार सुख्खा बन्दरगाह अनिवार्य छिर्नु पर्दैन । किनभने मानिसहरूका लागि वीरगन्ज सुख्खा बन्दरगाह, विराटनगर सुख्खा बन्दरगाह, भैरहवा सुख्खा बन्दरगाह ठिक हुन्छ भने उहाँहरूले त्यहीँबाट गर्नुहुन्छ । त्यहाँ असहज हुन्छ भने चोभार आउनुहुन्छ । त्यसैले चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पास भएन भनेर ठुलो ईस्यू बनाउन जरुरी छैन । भन्सार जाँच पास जहाँ भएन भने आइपुग्ने भनेको सरकारसँगै नै हो ।
चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण पूर्वाधारहरूको प्रयोग भइरहेको छ त ?
छन् । अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी चोभार सुख्खा बन्दरगाहमा छन् । पाँच वटा गोदाममा तीन वटा पूर्ण रूपमा भरिएका छन् । दुई वटा आंशिक रूपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ त ? भोलिको दिनमा फास्ट ट्र्याक सम्पन्न भइसक्दा बन्दरगाहको क्षमताले भ्याउँदैन । अहिले त्यसको तयारीतिर लागेका छौँ।
यो कुरा मैले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । यहाँ हिमाल सिमेन्टको सात सय रोपनी जग्गा छ । त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदिन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरू सकारात्मक नै हुनुहुन्छ । बन्दरगाहको सात सय रोपनी जग्गामा प्रदर्शनी स्थल बन्दै छ । त्यो प्रदर्शनी स्थलका लाग जति बेला जग्गा छुट्याईन्छ त्यति बेला नै बन्दरगाहका लागि पनि जग्गा छुट्याईन्छ ।