डा. प्रतिक वाग्ले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टरका रूपमा कार्यरत छन् । पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञका रूपमा सक्रिय उनी सन् २००७ देखि सोही अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिरहेका छन् । फोक्सो रोगीको चेकजाँच साथै सघन कक्षमा पनि जिम्मेवारीमा रहेका उनीसँग नेपाल न्युज बैंकसँग जाडो याममा फोक्सोमा आइपर्ने समस्या, समाधान, निमोनियाबाट सुरक्षित रहने उपायलगायतका विविध विषयमा कुराकानी गरेका छन् ।
यति बेला जाडो मौसम छ । फोक्सोमा कस्ता किसिमका समस्याहरू देखिन सक्छन् ?
फोक्सोमा कतिपय रोगहरू त दीर्घकालीन नै हुन्छन् । जस्तै, सिओपीडी क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज दीर्घकालीन रोग नै हुन् । साधारण भाषामा त्यसलाई दम भनिन्छ । अन्य एलर्जी दमहरू पनि हुन सक्छन् । यस्ता रोगहरू धेरैजसो बल्झिने खालका छन् । जाडो याममा मानव शरीरहरूमा हावा जाने नलीहरू सुनिने किसिमको भएकाले समस्या आउने हो । बिशेषगरी चिसोमा हावा अलिकति ड्राइ नेचरको हुने र त्यसले नलीलाई अलिकति समस्या गराउने गर्छ । हावा जाने नलीहरू धेरै इन्जर्ड भएर समस्या बल्झिने गर्छ । इन्फेक्सनहरू पनि कमन्ली यो टाइममा देखिन्छ । श्वासप्रश्वास नलीको इन्फेक्सनहरू, ब्रोनक्राइटिस पनि कतिपय अवस्थामा एलर्जीकै कारण हुने गर्छ । सम्बन्धित अर्गानिजममा कीटाणुले समस्या निम्त्याउन सक्छ । निमोनियाहरू पनि ब्याक्ट्रेरियल र भाइरल निमोनियाहरू देखिन सक्छ । त्यति मात्रै होइन ढुसी, फगंल इन्फेक्सनहरू पनि यस्तै बेला देखिन्छ । हुन त अरुबेला पनि फगंल इन्फेक्सनहरू रोगसँग लड्ने क्षमता कम हुने समयमा बढी पोलिफ्रेड हुन्छन् । तर यिनीहरू जाडोकै समयमा देखिन सक्छ । समग्रमा भन्नुपर्दा यो चिसो समयमा सबै रोगहरू बल्झिने समस्या भइरहन्छ ।
चिसोको कारणले फोक्सोमा देखिने समस्यामा कुनै उमेर विशेष हुन्छ ? वा कुन उमेरका व्यक्तिहरूलाई बढी जोखिम हुन्छ ?
यस विषयमा कुरा गर्दा विषेशगरी भन्ने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामै भर पर्ने कुरा हो । एक्सट्रिम अफ एज भनिन्छ नि साना उमेरका र उमेर बढी भएकाहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यही भएर समस्या देखिने गर्छ । कम उमेर समूह भएका मानिसहरूको प्रतिरोधात्मक क्षमता बढी हुन्छ । त्यसैले उनीहरूमा फोक्सो सम्बन्धी समस्या कम देखिन्छ । मानिसहरूले रोगसँग लड्ने क्षमता कम गराउन औषधिहरू खाइरहेकाहरू हुन्छन् । डाइबेटिज जस्ता समस्याले रोगसँग लड्ने क्षमता कम हुन्छ र यस्ता मान्छेहरूमा दीर्घकालीन रोगहरू किड्नीको समस्या देखिन सक्छ । कतिपयले बाथ रोगका कारण औषधि खाइरहेकाहरू हुन्छन् । जसका कारण रोगसँग लड्ने क्षमताहरू घटाइदिन्छ । त्यस्तोमा फोक्सो सम्बन्धी इनफेक्सनहरु बढी देखिने चान्स हुन्छ ।
यसबर्षको हिउँदमा लामो समयदेखि वर्षा भएको छैन, वायु प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
पोलुसनले शरीरका कुनै पनि अङ्गलाई राम्रो गर्दैन । अब श्वासप्रश्वासको कुरा चाहिँ कस्तो हो भने हाम्रो नाक–मुखबाट जाने हावा नै प्रमुख कुरा हो । बाहिरी वातावरणसँग टच हुने कुरा हो । त्यस कारण मानव स्वास्थ्यमा यसको प्रभाव बढी हुनसक्छ । यसबारे सुरुमा पनि मैले भने अलिकति चिसो समयमा ड्राइ एयरका कारण असर देखिने हो । ड्राइ एयरमाथि पनि पोलुसनयुक्त जुन वातावरण छ त्यो घातक हुन्छ । त्यस्तो बेला कणहरू हावा जाने नलीहरूमा छिरेर त्यसले झन् बढी असर गर्नका साथै अझ अरू रोगहरू पनि निम्त्याउन सक्छ ।
त्यसो भए चिसो र प्रदूषणबाट फोक्सोलाई कसरी स्वस्थे राख्ने ?
सबैभन्दा प्रभावकारी भनेको त मास्क नै हो । पहिलादेखि नै प्रयोग भए पनि कोभिड महामारीपछि मास्कको प्रयोग अलि बढेको छ । मास्कको पनि विभिन्न प्रकारहरू छन् । क्लोथवाला मास्क छन्, सर्जिकल मास्क प्रयोग भइरहेको हुन्छ । अन्य प्रकारका पनि छन् । फोक्सो जोगाउनका लागि स्वस्थे जीवनशैली नै अपनाउने हो । धूम्रपान र मद्यपान नगर्ने त्यसै गरी व्यायाम पनि गर्नुपर्ने हुन्छ । त्यसले मानव स्वास्थ्यमा राम्रै सहयोग पुर्याउँछ ।
अर्को कुराचाँही जाडोबाट जोगिनको लागि धेरै लेयरका लुगा लगाउने चलन छ । एउटै लगाउने पनि गरिन्छ । तर लुगा बाक्लो लगाउने भन्दा पनि न्यानो लगाउनु राम्रो हुन्छ । धेरै लेयरको लुगा लगाउँदा त्यसले इन्सुलेटको कामहरू पनि गरिराखेको हुन्छ । एउटाबाट छिरेको चिसो अर्कोले छेक्छ । अर्को भनेको चिसो धेरै भयो भनेर एयर कन्डिसनर राख्ने गरिन्छ । एयर कन्डिसनर कै प्रभाव पनि कति छ त भन्ने पनि अध्ययन भइरहेको पाइन्छ । बाहिर एकदमै १० डिग्री सेन्टिग्रेडको चिसो छ र घरमा चाहिँ २४ डिग्रीमा तताइराखेको छ भने त्यसले पनि असर गर्छ । अरू रोकथामको लागि भनेको त भ्यासिनहरु लगाउन सकिन्छ ।
जाडो याममा बिहानीपख बाहिर व्यायाम गर्नु वा मर्निङ वाक जानु कति उचित छ ?
व्यायाम गर्न, मर्निङवाक गर्न उचित नहुने भन्ने छैन । व्यायामको कुनै पनि नकारात्मक असर छैन । खास गरी चिसोबाट चाहिँ बच्नुपर्छ । तापक्रम व्यवस्थापन गरेर व्यायाम गर्यो भने पनि झनै राम्रो हुन्छ । बिहानको समयमा नै गर्ने हो भने पनि ठिकै छ । बेलुकीको समयमा गर्ने हो भने पनि ठिकै छ । व्यायामका कारण शरीरलाई कुनै हानी छैन । फोक्सोको समस्या हुनेहरूले पनि मजाले व्यायाम गर्न मिल्छ । तर सकी नसकी गर्नुपर्छ भन्ने चाहिँ छैन । बाहिर गएर दौडिन नै पर्छ भन्ने चाहिँ छैन । शरीरको औलाहरू चलाउने गर्नुपर्छ, हिँडाइको स्पिड मात्रै बढाउने हो भने पनि त्यसले राम्रो हुन्छ ।
विशेष गरी दमका रोगीहरू चिसो मौसममा कसरी जोगिन सक्छन् । खानपानमा केही ध्यान दिनुपर्छ कि ?
चिसो समयमा बढी प्रदूषणको लेबलहरू पनि बढ्दै जान्छ । आगो ताप्ने चलन छ त्यसबाट कार्बन डाइअक्साइड बनिरहेको हुन्छ । त्यसले पनि समस्या गराउन सक्छ । नत्र त चिसो र गर्मी दुवै जोखिमयुक्त नै हुन्छन् । चिसोको समयमा बढी समस्या हुनसक्छ । किनकि प्रदूषणको लेबल पनि बढ्छ । बच्नको लागि त न्यानो भएर बस्ने हो, स्वास्थ्य जीवनशैली अपनाउने हो र व्यायाम गरिरहने हो । ब्यालेन्स डाइटहरु खाने गर्नुपर्छ । जाडोमा दमका बिरामीहरूमा कार्बन डाइअक्साइड बढ्न सक्छ । कार्बोहाइड्रेट अलिकति कम भएको खानपान गर्ने कन्सेप्टहरू पनि थियो । तर आजभोलि त्यो कन्सेप्ट हट्दै गएको छ । र प्रोटिनयुक्त खानेकुराहरू जुन हाम्रो मसलहरूलाई चाहिने हुन्छन् त्यस्तो खानपान र स्वस्थ जीवनका लागि साग सब्जीहरू बढी खाँदा राम्रो हुन्छ । विशेष गरी खानाहरू सादा र प्रोटिनयुक्त खानु नै राम्रो हुन्छ । फोक्सोको हिसाबले डाइटमा यो खाने त्यो नखाने भन्दा पनि आफूलाई एलर्जी गराउने कुराहरू बार्नुपर्छ । खान हुने नहुने भन्ने चाहिँ त्यस्तो खास छैन ।
जाडोमा विशेष गरी निमोनिया धेरै हुने गरेको पाइन्छ । यसको मुख्य कारण के हो र यसका लक्षणहरू के के हुन्छन् ?
फोक्सो सुन्निने अवस्थालाई निमोनिया भनिने हो । यसमा धेरैजसो कारण इन्फेक्सन नै हो । निमोनिया भाइरस, ब्याक्टेरिया, फक्गलले गर्दा हुन्छ । निमोनिया टिपिकल र अटिपिकल निमोनिया भन्ने हुन्छन् ।
टिपिकल निमोनियामा ज्वरो, खोकी, खकार आउने, सास फेर्न गाह्रो हुने, कसैलाई छाती दुख्ने, वाक वाक लाग्ने, जिउ दुख्ने समस्याहरू हुन्छ । एक्स-रे गर्दा पनि टिपिकल फिचरहरू हुन्छन् । यसबाट दागहरू देखिने, इन्फेक्सन हुने वा पिपहरू जमेको हुन्छ । वास्तवमा फोक्सो भनेको बेलुन जस्तो हो । फोक्सोमा पिप जमेपछि सबै बेलुन भरिएको जस्तो देखिन्छ । कन्सोलिडेशन भन्ने फिचरहरू देखिन थाल्छ ।
जाडो महिनामा चाही किन यस्ता समस्याहरू बढी देखिन्छ ?
तापक्रमहरूले गर्दा इन्फेक्सन बढ्ने पनि हुन्छ । अर्को कुरा भनेको एक जना इन्फेक्सन भएको मान्छे आयो, बन्द कोठामा बसेको छ भने त्यो मान्छेले बोल्दा, हाच्छिउँ गर्दा, खोक्दा पनि भाइरसहरू आउने हुन्छ । चिसोमा बढी मात्रामा बन्द कोठामा बस्ने गरिन्छ यस कारण पनि अरूमा इन्फेक्सन सर्ने डर हुन्छ ।
बच्चाहरूमा निमोनियाको समस्या बढी देखिन्छ भनिन्छ । यसलाई कसरी हेर्नु हुन्छ ?
अलिकति ज्वरो र खोकी लाग्ने बित्तिकै सबैलाई निमोनिया भयो भन्ने चलन छ । तर कतिपय अवस्थामा यो वास्तविक रूपमा निमोनिया नहुन सक्छ । कतिपय सानो बच्चाहरूमा एलर्जीको दम सानैदेखि देखिन्छ । पहिला चरणको एलर्जीलाई पनि निमोनिया भनेको पाउँछौँ । तर, सानो उमेरमा रोगसँग लड्ने क्षमता कम नै हुने हुँदा निमोनियाको खतरा रहन्छ नै ।
तपाईँसँग चेकअप गराउन आउने बिरामीहरू मध्ये कस्तो खालको बिरामी बढी मात्रामा आइरहनुभएको छ ?
सबैभन्दा धेरै त धूम्रपानबाट हुने सिओपीडीका बिरामी छन् । सिओपीडी तहकै उपचार गराउने आउने गर्नुहुन्छ । त्यसको पनि क्राइट एरिया हुन्छ । सबै सिओपीडीका हुन्छन् भन्ने पनि हुदैँन् । अरू कारणले फोक्सोमा दागहरू हुनसक्छ जस्तो पोस्ट कोभिड, पोस्ट टिभीले गर्दा पनि फोक्सोमा दागहरू बन्छ । त्यसका कारणले पनि फोक्सो धेरै तन्किन पाउदैँन् । फोक्सो भनेको त इलास्टिक जस्तै हो तन्किने, खुम्चिने हुन्छ । दागहरू गर्दा फोक्सो धेरै तन्किन नपाएपछि स्वाँ–स्वाँ हुने धेरै सम्भावना हुन्छ । यस्तो खालको बिरामीलाई पनि सिओपीडी नै भनिन्छ । कतिपय त फोक्सो बाहेक मुटुहरूको कारणले गर्दाले पनि स्वाँ–स्वाँ हुनसक्छ । यसले हृदय घात पनि हुनसक्छ । यस्तो प्रकारको रोगलाई पनि दम नै भनिन्छ ।
त्यही भएर बिरामीको अवस्थामा विभिन्न परिवर्तनहरू आइरहन्छ । समग्रमा भन्नु पर्दा सिओपीडीको समस्या धेरै चुरोटको धुवाँ र दाउरामा खाना पकाउने कारणले हुन्छ । हावा जाने नलीहरू सुन्निएर बिग्रिँदै गइरहेको हुन्छ । जसलाई सिओपीडी भनिन्छ र यही बिरामीहरू नै बढी देखिन्छन् ।
जाडो महिनामा बढी आगो ताप्ने गरिन्छ । साथै हिटर र गिजरको पनि बढी प्रयोग हुन्छ । यसले फोक्सोमा कस्तो खालको असर गर्छ र सुरक्षित रूपमा यसको प्रयोग कसरी गर्न सकिन्छ ?
यसमा पहिलो दाउरा बाल्ने कुरालाई कम गर्नपर्छ । पकाउनको लागि आगो बाल्ने कुरा त हराउनै पर्ने कुरा हो तर अझै पनि प्रयोगमा छ । आगो बालेको जुन ग्यास र फ्युजहरू हुन्छ त्यसले टक्सिक म्याटेरियल बोकेकै हुन्छन् । त्यसले गर्दा असर गरेकै हुन्छ । कणहरू सानो सानो हुन्छ र कणहरूको साइज अनुसार कौलासिफाई गरिएको हुन्छ । अल्ट्रा फाइन पार्टिकल भनिन्छ नि त्यसमा ०.१ माइक्रोज भन्दा कम हुन्छ । तिनीहरू गएर हावा जाने नलीभित्रै कतै गएर अड्किन्छन् । सानो हुने भएकाले जहाँसम्म पुग्नुपर्ने त्यहाँसम्म नपुगेर बाहिरै फर्कन सक्छ । छिरेर सिधै रगतकै नलीसम्म क्यापिलरिसम्म नै गएमा त्यसले असर गर्छ । हावा जाने नलीमा समस्या हुन्छ र त्यसले स्वास्थ्यमा असर देखिन्छ । त्यस्तो असर दोहोरिएपछि दागहरू बन्दै जान्छ । जुन थाक्न पाउँदैन र दीर्घकालीन असर देखिन थाल्छ ।
यस्तै, ग्यास गिजर र अरू खालका गिजरहरू जुन छन् जसले स्मोक प्रड्युस गर्दैन । तिनीहरूले पनि टेम्परेचरलाई ड्राइ बनाइदिन्छ । ड्राइ एयर कन्डिसनरले पनि समस्या निम्त्याउन सक्छ । एयर कन्डिसनरले पनि ड्राइ एयरहरू निकालिरहेकै हुन्छ । तिनीहरूले पनि हावा जाने नलीलाई बिस्तारै असर पुर्याउनसक्छ ।
नेपालमा फोक्सो सम्बन्धी सबै उपचार सम्भव छ ?
विदेशतिर फोक्सो प्रत्यारोपण हुने गरेको पाइन्छ । तर नेपालमा बल्ल त किड्नीको प्रत्यारोपण सुरु भएको छ । कतिपय रोगको उपचार प्रत्यारोपणबाट मात्रै हुन्छ । कतिपयमा लामो प्रत्यारोपण नै गर्नुपर्ने अवस्था छ । नेपाल अहिले फोक्सो प्रत्यारोपणमा गएको छैन । कतिपय रोगहरूको उपचार भनेको प्रत्यारोपण नै हुन्छ । कतिको त फोक्सो प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउँछ । त्यस्तो व्यवस्था छैन नेपालमा । नेपालमा ट्रान्सप्लान्ट रोगको उपचार नै छैन । तर थामथुम गर्नको लागि औषधिहरू पर्याप्त छन् । तर लामो समयका लागि प्रत्यारोपण गर्ने विधि नेपालमा छँदै छैन । फोक्सो प्रत्यारोपण नभएको त होइन तर त्यसको लागि नेपालमा सेवा सुविधा नै छैन ।
प्रत्यारोपण जस्तो विधिलाई बलियो बनाउँदै लानुपर्ने हुन्छ । यसको लागि सरकारले पनि ध्यान दिनुपर्छ । कतिपय कुराहरूमा चाहिँ खर्चको कुरा पनि हुन्छन् । किनकि फोक्सोको उपचार गराउनुभएका कतिपय बिरामीहरू दोहोरिएर डाक्टरको आइरहनुभएको हुन्छ । कतिपय कुराहरू मोनिटरिङ गराइराख्नुपर्ने हुन्छ । हेर्नका लागि सिटी स्क्यान नै गर्नुपर्ने हुन्छ । सिटी स्क्यान त्यति सस्तो पनि छैन । धेरै महँगो छ । भारतकै मेडिकल कलेजहरूको पनि हेर्ने हो सबैमा सिटी स्क्यानको मूल्य फरक फरक छ । कतिपय जानेको कुरा अप्लाइ गर्नको लागि पनि गाह्रो नै छ । अर्फोट गर्न सक्नेहरू पनि रिस्क लिन नचाहेर हो अथवा के कारणले हो बाहिरतिर पनि रिफर गरिरहेका हुन्छन् । तर धेरै ठुलोको उपचार नेपालमा गर्न नसकिए पनि साधन स्रोत भए गर्न सम्भव छ अहिले पनि ।
भनेपछि हजुरलाई स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा नपरेको भन्ने नै लाग्छ ?
होइन भन्न पनि सकिँदैन । किनकि कतिपय कुरा सम्भव देखिन्छ । सानो छ तर किन भइराखेको छैन भनेर बुझ्नुपर्ने हुन्छ । तल बसेरै यस्तो भएन, उस्तो भएन भन्न त सजिलै छ । कामहरू गर्न सहज नहुन सक्छ । तर कतिपय सम्भव भएका कामहरू पनि भइरहेको पाइदैन् । हाल बिमा कार्यक्रम आएपछि केही राम्रो भएको छ । यसले धेरै उपचार गर्न नसक्नेले पनि उपचार गराउन पाएका छन् । तर बिमाले मात्र पुगिरहेको छैन । सबैले बिमाको पनि उपभोग गर्न पाएका छैनन् । सबैमा चेतना पुग्न नसकेर पनि हुनसक्छ ।
सरकारले के–के कुरामा ध्यान दिनुपर्छ ?
सरकारले गर्ने भनेको त जनचेतना नै बढाउँदै जाने हो । यसमा सहभागिता जनाउनुस्, भेट्नुस्, गर्नुस् भनेर भन्ने कुरा मात्रै हो । तर सरकारले त्यो बाहेक त केही गर्न सक्दैन । म्यानपावरहरूलाई पनि युटिलाइज गराउन सक्नुपर्छ । किनभने धेरैजसो मेजर सिटीमा मात्र सुविधा लिइरहेको पाइन्छ । सबै ठाउँमा सेवा सुविधा पुर्याउन सके धेरै सजिलो हुन्थ्यो ।
समग्रमा भन्नुपर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्ने भनेको स्वस्थ खानेकुरा खाने विषयमा विशेष ख्याल दिनुपर्ने हुन्छ । चुरोट, रक्सीबाट टाढै रहनुपर्छ । स्वास्थ्यलाई बचाउनको लागि साधारण फेस मास्क प्रयोग गर्नु राम्रो हुन्छ ।