रामेछापमा अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस सुरु, मन्थली-८ ले सुरु गर्‍यो पहिलो सेवा

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली नागरिकता प्रमाणपत्रको अनलाइन सिफारिस लिन सुरु गरेको छ ।

    कार्यालयले आइतबारबाट मन्थली नगरपालिका–८ चिसापानीबाट सो सिफारिस सुरु गरेको हो । नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरूप सो कार्य सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

    गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरूबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको उनले बताए ।

    मन्थली नगरपालिका–८ का विवेक खत्रीले वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस भई आइतबार पहिलो नागरिकता प्राप्त गरेका छन् ।

    अब क्रमशः सबै स्थानीय तहका वडाहरूबाट सोही प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य सुरु हुने पनि उनले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation