बाराका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार गरेको आरोप पत्र दायर

  • काठमाडौं । साबिक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारी उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको छ ।

    सचिवले विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कुरा खुल्न आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् ।

    अन्सारीले गाविसको स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी बापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरूबाट लिएको आ.ब.२०६४/६५ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिमको धरौटी बापतको रु.३८,३०,५००/–साबिक गाविसको धरौटी खातामा जम्मा नगरेको पुष्टि भएको छ ।

    यसको साथै, निज आस महमद अन्सारीले हिनामिना, दुरुपयोग गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ कायम गरी ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै निजले उक्त धरौटी बापत विभिन्न १२१ जना व्यक्तिहरूसँग लिएको रकमको विवरण सहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको÷नोक्सान गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना सजायसमेत हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation