मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचार प्रसार र स्थानीय तहको नजरमा नपर्दा ओझेलमा परेको छ । यो क्षेत्र पर्यटनको आकर्षक केन्द्र भए पनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो ।
नेपालमा पर्याप्त पर्यटकीय क्षेत्र भए पनि मुगु जिल्लामा नेपालका ठूलो ताल रारा सँगै विश्वको चार धाम मध्यको एका धाम अथार्त सती देबीको अन्तिम अंग पतन भएको छाँयानाथ धाम पनि यही मुगु जिल्लामा रहेको छ ।
यस्तै धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको पर्यटकीय क्षेत्र भएको एक जिल्ला मुगु भए पनि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकाहरुले चासो नदिँदा मुगु जिल्लामा रहेको धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यही अन्तर्गत रहेको सोरुगाँउपालिका वडा नम्बर ६ जिमा तातोपानी गुफा पर्यटक प्रचार प्रसारको पर्खाइमा बसेको छ ।
मुगुको सदरमुकाम गमगढी बजार देखि दुई घण्टा गाडीमा र ५ मिनेट पैदल हिँडेर तातोपानी गुफा पुगिन्छ । यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्न सक्ने प्वाल जस्तो छ तर प्वाल भित्र गएपछि २ सय भन्दा बढी मान्छेहरू हिँडडुल गर्न सकिने ठाउँ रहेको छ ।
विशेष गरी पुस महिनाको पुसे पूर्णिमाको दिन स्थानीय मेला लाग्ने र केटाकेटीले देउडा खेल्ने आफन्तहरू सँग भेटघाट गर्ने भलाकुसारी सँगै नाचगान गर्ने र रातभर रमाइलो गरेपछि गुफामुनि रहेको तातोपानीमा नुहाउने चलन छ ।
त्यसमा नुहाएपछि बाथ रोग, टाउको तथा पेट दुख्ने, घाउ खटिरा जस्ता रोग निको हुने भएको हुँदा धेरै जसो मानिसहरू पुस पूर्णिमाको दिन यस तातोपानी गुफामा आउने गर्छन् ।
अन्य माघ, फाल्गुन महिनामा पनि दैनिक ३० देखी ४० जना सम्म मानिसहरू यस तातोपानीमा नुहाउन र गुफा हेर्न आउने गरेको सोरु गाउँपालिका–६ का धनकर्ण मल्लले बताएका छन् ।
गुफालाई प्रचारप्रसार गर्न नसकेको र विगतका वर्षहरूमा तातोपानी गुफा व्यवस्थित र प्रचारप्रसार गर्नका लागि डिभिजन बन कार्यालय मुगुबाट ७ लाखको बजेटले तातोपानी धारा मर्मत भए पनि खासै तातोपानी र गुफाको व्यवस्थापन हुन सकेन । तातोपानी र गुफाको बारेमा स्थानीय सरकारको ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।
तातोपानी र जिमा गुफाको फरक विशेषता रहेको छ । यो गुफामा चमेराहरू पनि रहेका छन् भने गुफाको भित्र भगवानका फोटाहरू, पशुचौपाएका मुख जस्ता विभिन्न फोटा समेत रहेका छन् ।
गुफा सँगै जोडिएको तातोपानीको प्रचार प्रचार र पर्यटकहरूलाई समय बिताउने खालका पूर्वाधार निमार्ण गर्ने हो भने यस क्षेत्रमा धेरै आन्तरिक पर्यटकहरूको साथै स्थानीय वासीहरूले उत्पादन गरेका रैथाने अन्नबाली कागुर्ने, चिनो, मास, सिमी, रातो चामल बिक्री हुने स्थानीय समाज सेती ताराचन्द्र चौलागाईले बताएका छन् ।
गुफासहित तातोपानीको पूर्वाधार क्षेत्रमा संरक्षण गर्नको लागि पालिकाबाट डिपीआर निर्माण भई सकेको छ । सङ्घीय र प्रदेश सरकार सँग बजेटको पहल भइरहेको छ । यदि अन्य निकायबाट बजेट जम्मा गर्न नसके पालिकाको बजेट बाट गुफा र तातोपानीको संरक्षण गर्ने कार्य अगाडि बढी रहेको छ ।
सोरुगाँउपालिका भित्र रहेका धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्रहरूको प्रचार प्रचार गरी आन्तरिक पर्यटकहरूको वृद्धि गरी स्थानीय वासीहरूको आयआर्जनमा परिवर्तन ल्याउने खालका कार्यक्रम अगाडी बढाउने खालको योजनाहरू पालिकाबाट तय गरिएको सोरुगाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।