
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै यी दुवै हर्कतका विरुद्ध आवश्यक परे लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने बताए ।
यस्तै, उनले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए ।
उनले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलो पटक धारणा तय गरेको जानकारी दिए ।
यसको साथै, उनले हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने सम्भावना नरहेको स्पष्ट गर्दै मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरूले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।