भदौ २४ मा यसरी बाचे शिर्ष नेताहरु
वि.सं.२०८२ असोज २ बिहीवार ०९:५१
shares

जेनजीको प्रदर्शनका क्रममा भीआईपी र भीभीआईपीका निवाससमेत जल्न थालेपछि सुरक्षाकर्मीहरूलाई उनीहरूकै सुरक्षा गर्न हम्मेहम्मे पर्यो ।
प्रदर्शन उग्र हुँदै गर्दा राजीनामा दिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षित राख्न सेना/प्रहरीलाई सकस भएको थियो ।
भदौ २३ गतेदेखि प्रदर्शनमा उत्रिएका जेनजीमाथि प्रहरीले गोली हानेर पहिलो दिनमै १९ जनाको मृत्युपछि प्रदर्शन उग्र भएको थियो ।
२४ गते प्रदर्शन अराजक र हिंसात्मक बनेको थियो । त्यही दिन प्रधामन्त्री निवास बालुवाटारदेखि सिंहदबार, संसद् भवन तथा मन्त्रीका निजी घर, व्यवसायिक भवनहरूमा आगजनी भएका हुन् ।
सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका प्रदर्शनकारीले छानीछानी घर र निवासमा आगजनी गरे । भैँसेपाटीको मन्त्री क्वाटर जलाइयो । पूर्वप्रधानमन्त्रीहरूका घरहरू जलाइयो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई त प्रदर्शनकारीले घरभित्र कुटपिट गर्दै बाहिर निकालेका थिए । प्रदर्शनकारीको कुटपिटबाट देउवा दम्पत्ति घाइते भएका छन् । उनीहरूको सैनिक सुरक्षाबीच हाल उपचार भइरहेको छ ।
प्रदर्शनकारीको आक्रमण परी घाइते हुने देउवा एक्ला पूर्वप्रधानमन्त्री हुन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल आक्रमणबाट बालबाल जोगिएका थिए । प्रदर्शनकारीले उनकी श्रीमतीलाई भने घरभित्रै हुँदा आगो लगाइदिएपछि घाइते भएकी छिन् ।
को–कसरी जोगिए ?
प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा दजनौँ मन्त्री तथा नेताहरूका घर जलाएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको घर जलाइपनि उनी भने बालुवाटार प्रधानमन्त्री निवासमै थिए । तर, निवास तथा घरमा आगजनीले पूर्णक्षति पुर्याए ।
उनीहरूबाहेक सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको निवासमा समेत आगजनी भयो । प्रधानमन्त्री ओलीको राजीनामालगत्तै बालुवाटार पुगेका प्रदर्शनकारीले निवासमै आगजनी गर्न थालेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सेनाको शिवपुरी ब्यारेक लगेर सुरक्षित पारे ।
बालुवाटारस्थित निवासमै रहेका सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहाल प्रहरी प्रधान कार्यालय नक्साल पुगेर सुरक्षित भए ।
प्रहरी स्रोतका अनुसार, सभामुख, राष्ट्रियसभा अध्यक्षबाहेक अर्थमन्त्री विष्णु पौडेल, नोपल राष्ट्र बैंकका गर्भनर विश्व पौडेल, एमाले महासचिव शंकर पोखरेल तथा एमाले नेता प्रदीप ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा राख्दै जोगाइएको थियो ।
उनीहरू बालुवाटारको पछिल्लो गेटबाट निस्किएर प्रहरी प्रधान कार्यालय पुगेका थिए । पूर्वप्रधानमन्त्री प्रचण्ड भाडाको घरमा बस्थे भने माधवकुमार नेपाल आफ्नै निजी घरमा । निवासमा आगो लाग्दा नेपाल भने सिंहदबार प्रतिपक्षी दलको बैठकमा सामेल थिए ।
बैठकमै रहँदा उनीहरूले घर जलेको सूचना पाएका थिए । उनीहरूलाई सेनाको टोलीले महाराजगञ्जस्थित भैरवनाथ गणमा लगेको थियो । सोमबारदेखि नेपाल र प्रचण्ड दुवै सार्वजनिक भइसकेका छन् ।
नेपालले सोमबार नै जलेको आफ्नो घर तथा पार्टी कार्यालय र एमालेका विभिन्न नेताहरूको घर पुगेर निरीक्षण गरेका थिए । यसरी नै प्रचण्ड मंगलबार जलेको आफ्नो पार्टी कार्यालय पुगेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भने अझै सार्वजनिक भएका छैनन् ।
उनी शिवपुरी सैनिक ब्यारेकमै छन् । निजी निवास जलेका पूर्वप्रधानन्त्री तथा कांग्रेस सभापति देउवा भने उपचारका क्रममा छन् ।
जेनजीको हिंसात्सक प्रदर्शनकै कारण ओली नेतृत्वको सरकार ढलेर शुक्रबारदेखि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार बनेको छ ।












