गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आजदेखि सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका मन्त्रीहरुले सहभागिता जनाएका छन् ।
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभामा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता छ ।
होटल सोल्टीमा सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल हुँदैछ । तीन चिरामा विभाजित भएको एनआरएनएका सबै समूहका कार्यक्रममा सरकारी अधिकारीहरुको उपस्थिति देखिने गरेको छ ।
सम्मेलनमा गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जनाइएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर आरके शर्मा पक्षले विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष एवम उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् ।