काठमाडौं । कास्की जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अदालतसमक्ष अनुमति मागेको थियो । अदालतले मंगलबार सहकारी ठगी प्रकरणमा ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
लामिछाने र जोशीसहित ५१ जनाविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । त्यही तयारीका लागि अदालतले उनीहरूलाई थप ४ दिन हिरासतमै राख्ने अनुमति दिएको हो ।