४ वर्षदेखिका इँटा स्टकमा छन्, बिक्री छैन (अन्तर्वार्ता)

  • इँटा भट्टा उद्योगीहरूले विगत झैँ यस वर्ष पनि इँटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरूले केही ढिला गरी इटाभट्टामा इँटा पोल्न आगो लगाउने तयारी गरेका हुन् । व्यवसायीले करिब पाँच महिना निरन्तर इँटा पोल्ने बताएका छन् । यसै, सिलसिलामा २०४६ सालदेखि इँटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइ ह्योम्वाले इँटा पोल्ने कामको तयारी भइरहेको बताए । भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्ष समेत रहेका ह्योम्वासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको सम्पादित अंश :

    काँचो इँटाको तयारीदेखि कारखानासम्म निर्माणको प्रक्रिया कसरी गरिन्छ ?
    सुरुमा हामीले इँटालाई जम्मा गरेर राखेका हुन्छौ । त्यसलाई मेशिनले पेल्छौँ । त्यो पेलेको माटो इँटा बनाउनेहरूको खलमा लैजान्छौँ । त्यसपछिको इँटा बनाएर सुकाउने काम त्यही हुन्छ । त्यसपछि सुकेको इँटा भट्टामा ल्याउने काम गर्छौ ।

    भट्टामा इँटा पोल्ने काम कहिले हुन्छ, त्यसको उपयुक्त समय कुन हो ?
    औद्योगिक प्रवर्द्धन बोर्ड, नेपाल इँटा उद्योग महासंघ र उद्योग मन्त्रालयको सहकार्यमा एउटा निर्णय भएको छ । नेपाल अधिराज्यभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकाले पुस मसान्तसम्म इँटा उद्योगमा आगो नलगाउनु भन्ने निर्देशन छ । वातावरण प्रदूषण हुने भएकाले पुससम्म इँटा उद्योगमा आगो नलगाउँदा ठिक होला भन्ने हाम्रो पनि बुझाइ छ ।

    पुस महिनामा धेरै हावा चलेको हुदैँन्, सबै इटाभट्टाहरुमा एकै पटक आगो लगाउने हो भने यसले वातावरणलाई धेरै प्रभाव पार्ने हुँदा माघ लागेपछि मात्र काम सुरु गर्दा उपयुक्त हुन्छ । यही कुरालाई ध्यानमा राखेर माघ १ गतेदेखि भक्तपुर जिल्लामा भट्टाहरू सञ्चालन हुन्छन् ।

    भट्टामा आगो लगाउँदा के के विधिहरू अपनाउनु हुन्छ ?
    पहिला पहिला इँटा उद्योगमा प्रविधि नजान्दा धेरै दाउरा बाल्ने गरिन्थ्यो । विगत २० वर्षदेखि कोइला सल्काउनलाई थोरै दाउरा प्रयोग गर्ने गरेका थियौँ । अहिले ग्यासको प्रयोग गर्ने गरेका छौ । यसले दाउरा पनि बच्यो र वातावरणको हिसाबले पनि दाउराभन्दा ग्यास बाल्नु राम्रो हुन्छ जस्तो लाग्यो । खर्चको हिसाबले पनि दाउरामा धेरै खर्च हुन्थ्यो । ग्यास केही मात्रामा सस्तो पर्छ ।

    इँटा भट्टा व्यवसायको अहिलेको अवस्था के छ ?
    समग्र उद्योगको स्थिति नै ठिक छैन । समग्र व्यवसायी र व्यापारीहरू पनि समस्यामा छन् । आर्थिक क्रियाकलाप नै कम भइरहेको छ, इँटा उद्योग पनि त्यसमा अछुतो रहेन । उत्पादन भएका तीन–चार वर्षदेखिका इँटा स्टकमा छन् । विक्री छैन । विक्री कम छ । रेट पनि राम्रो छैन । अन्य उद्योग जस्तो बन्द गरेर पनि राख्न सकिँदैन । जग्गा भाडामा हुन्छ, गाडीहरू छन्, कामदारहरू छन् । जसले गर्दा बाध्य भएर पनि चलाउनुपर्ने अवस्था छ । पोहोर साल ७५ दिन मात्र आगो लगाउने काम गर्‍यौँ । त्यसमा पनि इँटा खपत भएन । अहिले पनि हामीसँग धेरै स्टकमा छ । अहिले बजारमा इँटाको माग धेरै कम छ ।

    माग कम हुनुको मुख्य कारण के होला ?
    अहिले निर्माण कार्य नै कम भएको जस्तो लाग्छ । धेरैजसो युवाहरू विदेश पलायन भएकाले काठमाडौंमा घर निर्माण नभएजस्तो लाग्छ । हाम्रो अनुमान पनि मान्छेको जनघनत्व र आयस्रोत नै कम भएर पनि घर बनाउने काम कम भएको जस्तो लाग्छ ।

    भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वा

    स्थानीय सरकारले उद्योगको लागि कस्तो व्यवस्था र सहयोग गरेको छ अथवा सहयोग पाउनु भएको छ कि छैन ?
    स्थानीय सरकारले सहयोग गरेको छैन भन्न पनि मिल्दैँन् । तर सहयोग भन्दा पनि बढी दुःख पाइरहेका छौँ । स्थानीय सरकार आएपछि दुःख र झन्झट बढी भएजस्तो अनुभूति हुन्छ । किनभने हाम्रो उद्योग चलिरहँदा पनि यो ठाउँको माटो निकाल्न मिल्दैन, यस्तोउस्तो गर्नु हुन्न, भाडा तिरिरहेको जग्गाको माटो लिँदा पनि कर लिने जस्ता विभिन्न किसिमबाट नगरपालिकाले दुःख दिइरहेको छ । जनप्रतिनिधिहरू आएपछि धेरै समस्याहरू आइरहेका छन् । मेयरहरूले काम सुरु गर भनेर सिफारिस दिनुहुन्छ तर स्थानीयवासीले अवरोध गर्ने गरेका छन् । खुल्ला ठाउँमा गर्नुपर्ने काम हो, चोरेर गरेको काम होइन ।

    विभिन्न समस्याहरू आए पनि समाधान गर्दै अगाडि बढेका छौ । इँटा उद्योगहरू अब आधुनिक रूपमा अघि बढेका छन् । वातावरण संरक्षण गर्नको लागि पनि नयाँ प्रविधिमा गइसकेका छौ । विगत आठ नौ वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ । चिम्नीले कालो धुवा फाल्दैँन् । अब नयाँ प्रविधि प्रयोग गर्दा, प्रदूषण जाँच गर्छौ र सरकारले तोकेको भन्दा पनि धेरै कम प्रदूषण हुने गर्छ । त्यसलाई पनि अझ कम गर्नको लागि अझै अध्ययन भइरहेको छ ।

    हालै, इन्जिनियरहरूले इँटा उद्योगमा गर्न सकिने कामको डेमो गरेर देखाउनु भएको छ । यसलाई पनि धेरै मात्रामा गर्न सकिने हो भने अझ प्रदूषणलाई जिरोमा नै लान सक्छौ ।

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा मात्र भट्टाहरू बढी भयो, यसले असर पारेको छ भन्ने गुनासो छ । यसप्रति तपाईँको धारणा के छ ?
    निश्चित रूपमा उद्योगमा काम गर्दा, अलिकति असर त हुन्छ । नगरपालिकामा मात्र भट्टा उद्योग हुनुको मुख्य कारण भनेको २०६१ देखि नै कुनै इँटा उद्योग दर्ता भएको छैन । नगरपालिकामा पहिला घरहरू थिएन, फाँट थियो । हामीले उद्योग सञ्चालन गरेको समयमा यहाँ कुनै पनि घर थिएन । त्यो बेलादेखि नै यहाँ काम गर्दै आएको हो । अहिले यहाँ जग्गा किनबेचले गर्दा बस्तीहरू बस्न आएको हो । तर चाँगुनारायण नगरपालिका मात्र होइन भक्तपुर जिल्लामा एक समयमा एक सय १८ वटासम्म इँटा उद्योग सञ्चालनमा थियो । अहिले सङ्ख्या घटेर ६०–६२ वटा पुगेको छ । त्यसमा पनि यसपालि ४०–४२ वटा मात्र सञ्चालन हुन्छ कि भन्ने अनुमान छ ।

    इँटा व्यवसाय सञ्चालनका लागि कस्तो कस्तो कच्चा पदार्थको आवश्यक पर्छ ?
    कच्चा पदार्थ भन्दा मुख्य कुरा माटो नै हो । अहिले माटो नै सकिँदै गएको छ । बिना माटो इँटा उद्योग सञ्चालन हुदैँन् । यसका साथै कोइला र भुस इन्धनको रूपमा प्रयोग गर्छौ । चिम्टाइलो खालको माटो हुन्छ । त्यसले इँटा बनाउँदा राम्रो र गुणस्तरको हुन्छ र त्यही माटोको प्रयोग पनि बढी हुन्छ । अहिलेका लागि भक्तपुरमा माटोको त्यस्तो कमी छैन । हामीले माटोको सदुपयोग गर्न सकेनौँ र माटो लिन जाने ठाउँमा समस्याहरू आइरहेको छ । काम नलाग्ने, खेती योग्य नभएको जग्गाबाट माटो निकाल्दा खेतीयोग्य पनि हुन्छ । त्यो घडेरीको रूपमा पनि प्रयोग हुन्छ । त्यस कारण निकाल्नै पर्ने माटो मात्र प्रयोग गरेका छौ । भक्तपुर इँटा उद्योग छेउमा भने माटो छैन । अहिले छिमेकी जिल्लाहरूबाट पनि माटो ल्याउने काम भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation