अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्यामा रोजगारी एवं स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् ।
आज नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता गरे ।
उनले भने, ‘घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठूलो संख्यामा रोजगारीका रुपमा यो क्षेत्रमा आवद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम,निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।’
सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उनले विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको बताए ।
अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुनरकर्जाको व्यवस्थालाई यथावत कायम राख्न उद्योग महासंका प्रतिनिधिको माग थियो ।