भारी वर्षा भइरहेका बेला युवक–युवतीमाथि दुर्व्यवहार, १६ जना गिरफ्तार

  • भारतको लखनऊमा भारी वर्षाका बीच बाइकमा सवार युवक र उनको पछाडि बसेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा अहिलेसम्म १६ जनालाई पक्राउ गरिएको छ ।

    गोमती नगर क्षेत्रमा भएको यो घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । यसपछि उत्तर प्रदेश सरकार र प्रहरीमाथि कानुनी व्यवस्थालाई लिएर लगातार प्रश्न उठिरहेको छ ।

    साथै मुख्यमन्त्री योगी आदित्यनाथले गिरफतार अभियुक्तमध्ये दुई जनाको मात्र नाम लिएकोमा पनि विपक्षीले प्रश्न उठाएका छन् । मुख्यमन्त्रीले घटनालाई राजनीतिकरण गर्न खोजेको उनीहरूको आरोप छ ।

    बढ्दो दबाबका बीच योगी आदित्यनाथ सरकारले डीसीपी, एडीसीपी र एसीपीको सुरुवा गरेको छ भने एसएचओसहित चौकी इन्चार्ज र केही सिपाहीलाई निलम्बित गरेको छ ।

    प्रहरीले पवन यादव र सुनिलकुमार नामका व्यक्तिलाई सीसीटीभी फुटेजका आधारमा र अरबाज र बिराज साहु नामका व्यक्तिलाई पछि पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    यो घटनाका दुवै पीडित अहिलेसम्म सार्वजनिक रूपमा आएका छैनन् ।

    बुधबार लखनऊमा घण्टौंसम्म वर्षाका कारण धेरै स्थान जलमग्न बनेका थिए । ताज होटलनजिकै पुल आसपास दर्जनौं मानिस पानीमा रमाइलो गरिरहेका थिए । भाइरल बनेको भिडियोमा देख्न सकिन्छ, यसै क्रममा बाइकमा एक पुरुष र महिला गइरहेका थिए । त्यहाँ रहेका बाँकी युवकमध्ये केहीले उनीहरूमाथि पानी छ्याप्छन् र बाइकलाई लडाइदिन्छन् ।

    यो भिडियो सोसल मिडियामा भाइरल बनेको छ । यसपछि प्रहरीले राति नै केही मानिसको पहिचान गरी गिरफ्तार गरेको छ । यो विषयमा विधानसभामा कांग्रेस नेतृ आराधना मिश्रा मोनाले उठाइन्, त्यसपछि योगी सरकारले अपराधीप्रति कुनै खालको क्षमा नहुने बताएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation