इजरायलमाथि इरानले आक्रमण गरे पश्चिम एसियामा ‘महायुद्ध’ को आशंका

  • हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हनियाको हत्याले पश्चिम एसिया क्षेत्रमा अशान्ति निम्त्याउने सम्भावना बढेको छ । इरानका सर्वोच्च नेता अली खोमेनेईले आफ्नो सुरक्षा बललाई इजरायलमाथि सिधा आक्रमण गर्न आदेश दिइसकेका अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

    इरानले आक्रमण गरे क्षेत्रमा ‘महायुद्ध’ हुन सक्ने चिन्ता धेरैले जनाइरहेका छन् । यसमा अमेरिका, रुसजस्ता शक्ति राष्ट्रहरू सामेल हुन सक्छन् । जारी तनावले युद्धको रूप लिएमा पछि त्यो विश्वयुद्धमै परिणत हुन सक्ने भय पनि बढेको छ ।
    इरानका नयाँ राष्ट्रपति मसुद पेजेशकियानको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका हनिया उनी बसेकै गेस्ट हाउसमा मारिएका थिए ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, ३० जुलाइ बिहान १० बजे उनी कतारबाट इरानको राजधानी तेहरान पुगे । साँझ ४ बजे इरानका नयाँ राष्ट्रपति मसुद पजशकियानको शपथ ग्रहण समारोह तय थियो । तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा हनिया निर्धारित समयमै पुगे । उनलाई आईआरजीसीले विशेष सुरक्षा दिएको थियो । समारोहमा हनियासँग झुम्मिएका अतिथिको भीड देख्दा लाग्थ्यो, खासमा राष्ट्रपति हनिया हुन् । साँझ ६ः३० बजे हनियालाई नयाँ राष्ट्रपतिसँग कुराकानी गर्दै गरेको देखाइएको थियो ।

    साँझ ७ः३० बजे उनी कडा सुरक्षामाझ गेस्ट हाउसतिर लागे, जुन राष्ट्रपति कार्यालयबाट मात्र सय मिटरको दूरीमा थियो । आईआरजीसीको वार भेटरान गेस्ट हाउसमा हनियालाई बस्ने व्यवस्था मिलाइएको थियो । गेस्ट हाउस पुगेर हनियाले साढे ८ बजेभन्दा पछिसम्म मुस्लिम देशका अन्य केही नेताहरूसँग वार्तालाप गरे ।

    त्यो रात १२ बजेपछि ३१ जुलाई सुरु भयो । बिहानको राति २ बजे उच्च सुरक्षा क्षेत्रमा रहेको सोही गेस्ट हाउसमा मिसाइल आक्रमण भयो । राति करिब २ः१० मा हमासका राजनीतिक नेता हनियाको मृत्यु भयो । उनीसँगै एक बडीगार्डको पनि मृत्यु भएको बताइएको छ । सोही गेस्ट हाउसको तल्लो फ्लोरमा रहेका अन्य स्टाफ भने सकुशल रहेको बताइएको छ ।

    हमासले आफ्ना नेताको हत्या इजरायलको षडयन्त्रमा भएको आरोप लगाएको छ । इजरायलले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । गत वर्ष ७ अक्टोबरमा भएको आक्रमणपछि नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई सिध्याने कसम खाएका थिए ।

    कडा सुरक्षा रहने राष्ट्रपति कार्यालयबाट एक सय मिटर टाढाको गेस्ट हाउसमा इस्माइल हनिया र उनका बडीगार्ड मात्रै मारिने गरी आक्रमण कसरी सम्भव भयो ? जुन भवनमा हनिया मारिए, त्यसैको अर्को भागमा इस्लामिक जिहाद नेता जियाद अल नखला थिए, उनलाई निशाना बनाइएन ।

    इरानले अहिलेसम्म घटनास्थलको तस्वीर सार्वजनिक गरेको छैन ।

    इरानले आफ्नो मस्जिदमा प्रतिशोधको रातो झण्डा फहराएको छ, जसलाई महायुद्धको सूचक मानिन्छ । इरानको इतिहासमा यसरी छैठौंपल्ट रातो झण्डा फहराइएको हो । गत अप्रिलमा इजरायलमाथि इरानले मिसाइल र ड्रोन आक्रमण गर्नुभन्दा पूर्वसन्ध्यामा रातो झण्डा देखिएको थियो । इरानी नेता अयातुल्ला सैय्यद अली खामेनेईले हमास नेताको हत्याको प्रतिशोधमा इजरायललाई कडा सजाय दिने कसम खाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation