ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव : मन्त्री खड्का

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताएका छन् ।

    आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले ऊर्जा क्षेत्रमा ठुलो धनराशि खर्च भइरहेको भए पनि जनशक्तिको ठुलो अभाव रहेको बताए ।

    उनले भने, ‘ऊर्जा क्षेत्रमा ठुलो धनराशि खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्ति मात्र म केही प्रोजेक्टहरू निरीक्षणमा जाँदै गर्दा टरमाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठुलो अभाव देखियो । त्यस कारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरूको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’

    मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधिहरू आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए ।

    उनले भने, ‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधिहरू आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरै भन्दा धेरै गर्नुपर्नेछ । त्यस कारणले पनि यस्ता प्रविधिहरूलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’

    त्यस्तै, ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकभर विद्युतीय गर्दै बढी भन्दा बढी उत्पादित विद्युत्लाई अन्तरदेशिय प्रसारण लाइनमार्फत विद्युत् व्यापार गर्ने उद्देश्यले राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढिरहेको बताए ।

    उनले भने, ‘मुलुकभर विद्युतीय गर्दै बढी भन्दा बढी उत्पादन गरेको विद्युत्लाई अन्तर देशीय प्रसारण लाइनमार्फत विद्युत् व्यापार पनि गर्ने भन्ने अभिप्रायले एउटा राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढेको छौँ ।’

    त्यस्तै सोही कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगको अध्यक्ष डा.रामप्रसाद धितालले उत्पादकको प्राविधिक,प्रसारणका प्राविधिक पाटाहरूमा हुने कार्यान्वयनमा नियमनकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

    उनले भने, ‘प्राविधिक विषयको कुरामा हामीले उत्पादकको प्राविधिक पाटाहरूमा, प्रसारणका प्राविधिक पाटाहरूमा वितरण र हाम्रा घर भित्रको प्राविधिक पाटाहरूमा मापदण्ड बनाउने र त्यसलाई कार्यान्वयन गर्ने भएको हुनाले यस्तो कामलाई कार्यान्वयन हुन्छ । पछि कार्यान्वयनमा नियमनकारी भूमिकामा जाने छौँ ।’

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation