एमालेको कारबाहीप्रति आक्रोश : ‘फरक मत राख्नेमाथि कारबाही गरिनु गलत’

  • काठमाडौं । राजनीतिक दलहरूले भिन्न मत राख्नेहरूलाई कारबाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन् । मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरूले दलहरूमा लोकतान्त्रिकीकरण आवश्यक भएको औँल्याए ।

    बृहत् नागरिक आन्दोलनका अगुवा सञ्जीव उप्रेतीले दलहरूभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए । ‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारबाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औँला उठाउने जोकोही कारबाहीमा पर्नु लोकतान्त्रिक होइन । यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने ।

    नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरूको संख्या ठूलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताइन् । ‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ । संविधानभन्दा माथि कुनै पनि राजनीतिक दल हुन सक्दैन । पार्टीहरूले मत र मन जितेर अघि बढ्नुपर्छ । एमालेले हामीहरूमाथि गरेको निर्णय गलत छ,’ उनले भनिन्, ‘सबै कुरा तथ्यले प्रमाणित गर्दै जान्छ । म ६ महिना होइन एक वर्ष कारबाही भोग्न तयार छु । तर सत्य बोल्न छाड्दिन ।’

    आफू जन्मिँदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिबद्धता पनि जनाइन् । ‘म एमालेको सिद्धान्त पढेर हुर्किएकी हुँ । सत्य बोल्दा अनुशासनको कारबाही मेरा लागि केही होइन । एमालेबाट अलग हुने परिकल्पना गर्न सकिदैन । पाँच दशक एमालेमा सक्रिय भएका भीम रावललाई निष्कासित गर्नु ठूलो गल्ती हो, उनले भनिन् । उनले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताइन् । उनले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताइन् ।

    त्यस्तै एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा परेकी उषाकिरण तिमल्सिनाले पार्टीले कारबाही गर्दा आफूहरू सेलिब्रेटीजस्तो भए पनि पार्टीभित्र निराशा छाएको बताइन् । ‘हामी एमालेमै राजनीति गर्ने हो । तर कानुन र समाजलाई असर पर्नेगरीका निर्णय मान्न तयार हुन सकिदैन्,’ उनले भनिन् । कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारबाही गरिनु गलत भएको बताए ।

    कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरूमा भिन्न मत राख्नेहरूलाई स्पेस नदिनु दुःखद भएको बताए । उनले भने,‘फरक मत राख्नेहरूलाई कारबाहीको डन्डा चलाइनु लोकतान्त्रिक विधि होइन । दलहरूभित्र लोकतान्त्रिकीकरण आवश्यक छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation