काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मङ्गलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्छ । पिएसबीमा सबै वर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने लागेको छ । राष्ट्र निर्माणका लागि पिएसबीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्छ भन्ने विश्वास लिएको छु ।’
साथै उनले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । उनले अरू मिडियाले झैँ नाफा कमाउने नभई पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रति केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा विशेष ध्यान दिन आग्रह गरेकी छिन् । उनले पिएसबी ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक नीति नियम, विनियमम क्रमशः तयार गर्ने विषयमा मन्त्रालय लागि परेको समेत उल्लेख गरिन् ।
उनले भनिन् , ‘सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा विशेष ध्यान दिन हामीले जरुरी छ । यसका लागि आवश्यक नीति नियम, विनियमम क्रमशः तयार गर्ने विषयमा मन्त्रालय लागि परिरहेको छ ।’
अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण विपद्को सारथि र समृद्ध राष्ट्र निर्माणको संवाहकको रूपमा रहने बताए । उनले पिएसबी नेपालको मुख्य प्राथमिकतामा राष्ट्र निर्माण, विपद्को सारथीका साथै समृद्धिको आयाम रहने बताए ।