जनकपुर । मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिवार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ ।
मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना र सम्मानमा यो दिवस मधेश प्रदेश सरकारलगायत मधेशवादी दल र नेताहरूले मनाउँदै आएका छन् ।
कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठ वटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिंहले सहिद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाइते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाइते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाइते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिंहले आज शनिवार भएका कारणले रकम हस्तान्तरण गर्न ढिलाइ भएको र भोलि बैंक खुलेपछि बैंक खातामै रकम जाने गरी व्यवस्था मिलाउने जानकारी दिए ।
त्यस्तै उनले सहिद परिवारका सदस्यहरूका लागि बिमा कार्यक्रम, छोराछोरीका लागि छात्रवृत्ति लगायतका सुविधा यसै वर्षदेखि सुरु गर्न लागेका बताए ।
मुख्यमन्त्री सिंहले सहिद परिवारका सदस्यहरूको व्यवस्थापनका लागि रोड म्याप तयार गरेर रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका सेवा सुविधा दिने प्रतिबद्धता जाहेर गरे ।