काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज सम्बन्धी समस्याहरूको समाधान दिने हिसाबले लागेको बताएका छन् ।
सोमबार समितिमा आयोजित छलफलमा उनले अध्ययन गरेर नीति, ऐन र सहायक ऐनहरू निर्माण गर्ने कुरामा गहिरो तरिकाले लागेको भन्दै यसमा चिन्ता नलिन आग्रह गरेका छन् ।
उनले भने, ‘नीति परिमार्जित गर्ने, कानून बनाउने त्यो कानूनले काम गरेको छ कि छैन भनेर गहिरो ढङ्गले अध्ययन गरेर नीति त्यो अनुसारको ऐन र ऐन अनुसार सहायक ऐनहरू निर्माण गर्ने कुरामा पनि हामीले अलि बढी ध्यान दिनुपर्छ भनेर गहिरो तरिकाले लागेका छौ । यसमा चिन्ता गर्नुपर्दैन, हामीले यसलाई बिगार्दैनौ । समस्याको समाधान दिने हिसाबले नै हामी लागेका छौ । यसमा सबैको सहयोग आवश्यक छ ।’
यसको साथै, उनले यस विषयमा सम्भव भएसम्म सबैसँग छलफल गरेर अगाडि बढ्ने भन्दै समस्या समाधानको काम अन्तिममा पुगेको बताए ।
उनले भने, ‘राष्ट्रिय निकुञ्जको विषय फरक भएको कारणले नै यसलाई छुट्टाइएको हो नभए वनमा नै जान्थ्यो होला । हामीले अध्ययन सुरु गरेको विषय समस्या नभएर समस्या बनाउन खोजेको होइन, समस्या भएर नै विषयवस्तु उठेको हो । हामीले समस्या समाधानको विषय खोजी रहेका छौ । यो खोजीको काम अन्तिममा पुगेको छ । सम्भव भएसम्म सबैसँग छलफल गरेर यसलाई समाधान गर्ने छौ ।’