मेडिकल र निर्माण व्यवसायी सम्बन्धि कानुन चाँडै निर्माण गरिने

  • काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कानून निर्माण गर्ने स्थानमा हुदाँपनि पूर्ण कानुन बनाउन नसक्नु आफैँमा दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको छलफलमा उनले मेडिकल व्यवसायी र निर्माण व्यवसायी सम्बन्धी कानूनहरु जनता, राज्य र देशलाई समृद्धिको गतिमा लान समस्या सिर्जना गरेको देखिएको भन्दै यसमा समितिले पहलकदमी गर्ने बताए ।

    निवेदकर्ताहरुले पेश गरेको प्रस्ताव छिटो भन्दा छिटो सम्बन्धित मन्त्रालय, मन्त्री बोलाएर कडा निर्देशन दिएर कार्यान्वयन समेत गराउने पक्षमा समिति लाग्ने पनि उनको भनाई छ ।

    उनले भने, ‘विषयवस्तुलाई हेर्दा वास्तवमा समस्या भनेको कानूनकै देखिएको छ । यो गम्भीर विषय हो । हामी कानून बनाउने ठाउँमा छौ तर कानून निर्माण गर्ने स्थानमा हुँदा पनि कानून अझै पूर्ण रूपमा बनाउन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । कानुन नहुँदा जनता, राज्य र देशलाई समृद्धिको गतिमा लान समस्या सिर्जना भयो । समितिमार्फत दुवै निवेदनकर्ताहरुले पेश गरेको प्रस्ताव छिटो भन्दा छिटो सम्बन्धित मन्त्रालय, मन्त्री बोलाएर यसमा कडाभन्दा कडा निर्देशन दिएर कार्यान्वयन समेत गराउने पक्षमा जान्छौं ।’

    यसको साथै, उनले मेडिकल व्यवसायी र मेडिकल व्यवसाय दुवैले सिन्डिकेटको विषयवस्तु उठाएको भन्दै दुवै संघको विषयवस्तु सान्दर्भिक र गम्भीर रहेको बताए ।

    उनले भने, ‘आज दुईवटा विषय वस्तुमा छलफल गरेका छौँ । नेपाल मेडिकल व्यवसायी संघ र निर्माण व्यवसायी महासंघको निवेदन माथि छलफल भएको छ । दुइवटा संघको विषयवस्तु सान्दर्भिक र गम्भीर छ । मेडिकल व्यवसायीहरूले दिएको निवेदनमा श्रमिकहरूको कुरा र मेडिकल व्यवसायमा भएको सिन्डिकेटहरूको विषयमा पनि कुरा आएको छ । निर्माण व्यवसायीहरूको पनि सिन्डिकेटकै विषय उठाउनु भएको छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation