काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन् । बुधवार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरूसमेत भोलिको संसदमा पेश हुने बताएका हुन् ।
उनले भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेश हुनेछ । विशेष गरी प्रतिपक्ष दलका नेताहरूले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वाभाविक कुरा नै हो । सुन्ने र विशेष समय लगायत केही विषय हुन्छन् । सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयहरूमा छलफल राख्ने हाम्रो तयारी छ । केही महत्त्वपूर्ण विषयहरू र प्रतिवेदनहरू माथि छलफल हुनेछ । विशेष गरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौँ ।’
साथै, उनले शुक्रवार बसेको संसदको बैठकमा रास्वपाले मर्यादा भंग गरेको बताए । उनले यसरी मर्यादा भंग हुँदा नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको बताए ।
उनले भने, ‘विशेष गरी अस्तिको पहिलो बैठकमा हाम्रो के प्रचलन छ भने कतिपय कुराहरू संसदभित्र गर्दैगर्दाखेरी कार्यव्यवस्थामा छलफल गर्ने र कार्य व्यवस्थामा छलफल हुन सकिएन भने सम्माननीय सभामुख ज्युलाई बैठक पूर्व नै कतिपय विषयवस्तुहरूका बारेमा जानकारी दिने हाम्रो संसदीय अभ्यास र परम्परा हो । तर पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी उहाँहरूले संसदको बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको कुरा र सभामुखले पटक पटक रुलिङ गर्दा पनि त्यसलाई अस्वीकार गर्ने, सभामुखको आदेशलाई नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौँ त्यसले नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको छ ।’