कलंकी–नागढुंगा खण्डको यात्रा गर्दा थानकोट चेकपोस्ट नजिकै किसिपिडीमा सडकमै बनिरहेको एउटा भव्य संरचनाले धेरैको ध्यान तान्छ । नेपालमा सडक पूर्वाधारमा सुरुङमार्ग र फ्लाइओभर निर्माणको चर्चा भएको धेरै वर्ष बितिसके, बन्दै गरेका यी संरचनाले भने अब फ्लाइओभर र सुरुङमार्ग भएर यात्रा गर्ने दिन धेरै टाढा नभएको प्रष्टै देखाउँछ ।
अहिले बलम्बु नजिकै मूल सडकको बीचको लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) धमाधम निर्माण हुँदैछ । यो भव्य संरचना निर्माणाधीन नागढुंगा सुरुङमार्ग (सिस्नेखोला–टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्ने फ्लाइओभरको फ्रेम हो । भविष्यमा काठमाडौंको मुख्य नाका नागढुंगा सुरुङमार्ग भएर काठमाडौंबाट बाहिरिने र सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने सवारीले मूल सडकमा आइपुग्न पहुँचमार्ग र यो फ्लाइओभर प्रयोग गर्नेछन् ।परामर्शदातृ कम्पनी निप्पोन कोइका इन्जिनियर रमेश कोइरालाका अनुसार यो निर्माणाधीन फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प (उकालो सडक) बन्नेछ भने पहुँचमार्गतर्फ २१० मिटरको र्याम्प तयार हुनेछ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना खडा गरिनेछ ।
यो फ्लाइओभरलाई काठमाडौंबाट सुरुङमार्ग हुँदै बाहिरिने सवारीले मात्रै प्रयोग गर्न पाउनेछन् । सुरुङमार्ग भएर काठमाडौं भित्रिएका सवारीहरुले र्याम्प र फ्लाइओभर सुरु हुनुभन्दा अघि ‘ग्रेड सेपरेसन’ गरेर छुट्याएको अर्को लेन प्रयोग गरेर पुलमुनिबाट कलंकीतर्फ आउन पाउनेछन् । ‘यहाँ सवारी व्यवस्थापनकै लागि ट्राफिक प्रहरी राख्नुपर्ने हुँदैन,’ परामर्शदाता इन्जिनियर कोइराला भन्छन्,‘सबै सवारीले तोकिएका बाटोका गुड्न पाउँछन्, जाममा बस्नुपर्दैन ।’