देवी मन्दिरको संरक्षक तामाङहरु

  • त्यहाँ रहेको बस्तीमा एक घर पनि ब्राह्मण क्षेत्रीको छैन । पूरै बस्ती तामाङ समुदायको, सबै बौद्ध धर्मालम्बी, तर गाउँको बिचमा मन्दिर भने हिन्दु धर्मालम्बीको महाकाली देवीको ।
    नेपालमा धार्मिक तथा जातीय सहिष्णुता कति प्रगाढ छ भन्ने उदाहरण हो रामेछापको खाँडादेवी–८ गागलको महाकाली मन्दिर । तामाङ बस्तीको बिचमा रहेको यो मन्दिर स्थानीयको आस्थाको केन्द्र मात्र होइन धार्मिक सहिष्णुताको प्रतीक पनि बनेको छ ।
    यो महाकाली मन्दिरलाई ऐतिहासिक र पुरानो मानिन्छ । मन्दिरको इतिहास स्थानीयलाई थाहा छैन ।
    स्थानीयका अनुसार अहिले मन्दिर रहेको ठाउँमा स्थानीयले पोखरी खन्न लागे । पोखरी खन्ने क्रममा एउटा ठुलो ढुङ्गा फेला प¥यो । पोखरी खन्नेहरूले खनेर ढुङ्गा निकाल्न सकेनन् । घनले फुटाउँदा ढुङ्गाबाट रगत निस्कियो ।
    ढुङ्गाबाट रगत आएपछि स्थानीयले जान्नेलाई देखाए । जान्नेलाई देखाउँदा म महाकालीबाट आएको श्री महाकाली देवी हुँ भनेर बकेपछि सोही ठाउँमा महाकाली मन्दिर स्थापना गरियो भन्ने कहावत छ ।
    महाकाली थानमा प्राकृतिक शीला छ । त्यहाँ भोगखाने र नखाने दुवै थरीका देवी छन् । पहिला धेरै बली चढाइने सो मन्दिर अहिले बली पूजा भने रोकिएको खाँडादेवी–८ वडाध्यक्ष जङ्गलाल तामाङ बताउँछन् ।
    देवीस्थानमा देवीको सुरक्षाको लागि एउटा ठुलो ढुङ्गा गाडिएका छ । सो ढुङ्गा गाउँको पारी माकादुमबाट ल्याइएको स्थानीय बताउँछन् । ढुङ्गा ल्याउँदा बाटोमा भाँचिएपछि त्यो टुक्राबाट सोही ठाउँमा महादेव र साँढेको मूर्ति बनाएर मन्दिर स्थापना गरिएको छ ।
    महाकालीस्थानमा गाडिएको ढुङ्गामा सुनको गजुर राखिएको थियो । सो गजुर चोरी भएपछि लामो समयसम्म त्यतिकै खाली रह्यो । पछि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजक गरी जलप लगाएको गजुर राखिएको छ । मन्दिर संरक्षणको लागि मन्दिरको वरिपरि कम्पउण्ड वाल लगाएर संरक्षणको काम गरिएको वडाध्यक्ष तामाङ बताउँछन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation