दशौं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा नेकपा एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आकार २९९ बनाउने निर्णय गरेको छ । गत माघ दोस्रो साता सम्पन्न केन्द्रीय परिषद् बैठकले केन्द्रीय कमिटीको आकार १९९ मा सीमित गर्नुपर्ने निर्णय गरेको थियो ।
तर सचिवालय बैठकले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या थप्ने निर्णय गरेको हो । बैठकबाट सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद राख्ने अनि आवश्यकताको आधारमा वरिष्ठ नेता थप्न सकिने निर्णय भएको छ ।
यसको अर्थ फेरि पनि एकीकृत समाजवादीमा जम्बो पदाधिकारी र केन्द्रीय कमिटी बन्ने भएको छ । जबकी चुस्त कमिटी निर्माण गरिनुपर्ने आवाज पार्टीभित्रै उठेपछि पदाधिकारी र केन्द्रीय सदस्य घटाउनेबारे लामै छलफल चलेको थियो ।
तर पार्टीभित्र भएको छलफलको आशय विपरीत पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरिनुमा नेताहरुको स्वार्थले काम गरेको देखिन्छ । ‘महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनु भनेको पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको वातावरण कमजोर बन्दै जानु हो’, एक नेता भन्छन् ।
नयाँ नेतृत्व चयनबारे पार्टीभित्र दुई लाईन संघर्ष बलियो हुँदै गएकाले पदाधिकारी र केन्द्रीय सदस्य बढाउनुपरेको उनी बताउँछन् । ‘अहिलेका पदाधिकारी र नेताहरु मध्ये धेरैलाई आफ्नो समूहमा व्यवस्थापन गर्न धेरै पद चाहियो’, ती नेता भन्छन्, ‘दुवै समूहको स्वार्थ मिलेकाले कमिटीको आकार बढाउने निर्णयमा नेताहरु सहमत हुनुभयो ।’
घटनाक्रम र गतिविधिले पनि नेतृत्व लिने होडकै कारण अन्तिम समयमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय भएको पुष्टि हुन्छ । पर्सि, १६ असारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने महाधिवेशनबाट अध्यक्षमै रहने तयारी माधव नेपालले गरिरहेका छन् । त्यसका निम्ति आफू निकटस्थहरुको दिनहुँजसो भेला राखिरहेका छन् ।
तर माधवलाई जसरी पनि रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल लागेका छन् । पार्टी गठनको सुरुदेखि नै उनले अध्यक्ष नेपालसँग फरक मत राख्दै आएका थिए । सैद्धान्तिक–वैचारिक रुपमा फरक मत राख्ने खनालले आफू पक्षधरहरुको पंक्ति संगठनात्मक रुपमा पनि तयार पारेका थिए । तिनै संगठनात्मक शक्तिका साथ खनाल मैदानमा उत्रिएका छन् ।
घनश्यामको प्रवेश
पाँच दशक पुराना प्रतिस्पर्धी झलनाथ खनालको चुनौती माधव नेपालका निम्ति अपेक्षित नै थियो । सम्मानित नेता खनालले अडान लिएपछि मध्य असारमै महाधिवेशन गर्न तयार हुनुले संभावित चुनौतीबारे नेपाल जानकार रहेकै पुष्टि हुन्छ ।
तर महाधिवेशन नजिकिदै गर्दा भने नेपालले सोचे भन्दा भिन्न परिस्थिति सिर्जना हुन पुगेको देखिन्छ । किनकि झलनाथ खनालले आफू पछाडि हटेर आफ्नो सम्पूर्ण शक्ति घनश्याम भूसाललाई पार्टी अध्यक्ष बनाउन खर्चने प्रष्ट पारेका छन् ।
भलै महासचिव भूसाललाई आगामी महाधिवेशनबाट अध्यक्षको उम्मेदवार बनाउने सार्वजनिक घोषणा गरेका छैनन् ।
तर पूर्वप्रधानमन्त्री खनाल निकटस्थहरु खुलेरै घनश्याम भूसाललाई अध्यक्ष बनाउन लागिसकेका छन् । ‘माधव नेपालविरुद्ध अब घनश्याम भूसाल मैदान उत्रने लगभग पक्का भयो । अब यो परिस्थिति टर्ने भनेको घनश्याम भूसालको नाममा सर्वसहमति हुँदा मात्र हो’, खनाल निकट रहेकै एक नेता भन्छन् ।