अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि हराइरहेका काभ्रेका सुभाष बोलखेको शव सिड्नीको साङसुसी क्षेत्रको समुद्री तटमा भेटिएको छ । क्यानबेरास्थित नेपाली दूताबासका अनुसार बोलखेको शव भेटिएको पुष्टि प्रहरीले गरेकाे हाे । एनएसडब्लु प्रहरीले बोलखेको शव फेला परेको क्यानबेरा स्थित नेपाली राजदूतावासलाई जानकारी दिएको राजदूतावासका काउन्सिलर कुलबहादुर मगरले बताएका छन् ।
उनी घरमै मोबाइल र अन्य कागजात छाडेर बेपत्ता थिए । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने/भेट्नेले खबर गर्न आग्रह गरेको थियो ।
१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि गएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एकजना साथी विवाहका लागि नेपाल आएको समय भएका कारण उनी कसैलाई केही नभनी सम्पर्कविहीन भएका थिए ।२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको थियो । काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख महेश खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका थिए ।
उनको शव नेपाल ल्याउनका लागि परिवार, नगर प्रमुख खरेल, अष्ट्रेलियामा रहेका नेपाली समूदायले पहल गरिरहेका छन् । अष्ट्रेलिया सरकारको प्रक्रिया, पोष्टमार्टमलगायतका काम सकेर नेपाल ल्याउन अझै १५ दिन लाग्ने परिवारले जनाएको छ । शव ल्याउन करिब १० हजार डलर खर्च हुने भएकाले उक्त रकम संकलनका लागि पहल भइरहेको नगरप्रमुख खरेलले जानकारी दिए ।