‘हरिबहादुरको जुत्ता’ निर्माण हुँदै

  • अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी ‘हरिबहादुरको जुत्ता’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।

    गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन् । ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् ।

    फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

    अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । फिल्म निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन् । हरिवंशले आफुले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफु फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए । ‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन,’ ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ । यत्तिकैमा हरिवंश दाईले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो । सुन्नेवित्तिकै मनपर्यो । त्यसपछि उहाँको कन्सेप्टमा फिल्म निर्माण गर्न म तयार भएको हुँ ।’

    अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै फिल्ममा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ । ‘म सानैदेखि हरिवंश दाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ प्रकाश भन्छन्, ‘संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी काम गर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुशी छु । निर्देशनमा दिपेन्द्र दाईको बेग्लै उचाई छ । यो फिल्म तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ । पक्कै केही नयाँ र विशेष हुनेछ भन्नेमा म आशावादी छु ।’ फिल्मी क्षेत्रमा प्रवेश गरेका सपुतले कत्तिकाे उचाइ हासिल गर्छन् त्याे भने हेर्न बाँकी नै छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation