नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टी उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले यस्ताे मत राखेका हुन् ।
उनले भने,‘यो त उहाँले आत्मनिर्णय र आत्मसमिक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमिक्षा गर्नुपर्छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्यो । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ ।’
उनले रवि लामिछानेलाई फ्रड भन्दै सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् ।
उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन् । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’
नेपालमा सबैभन्दा बढि विकास भएको भनेको भ्रष्टाचार भएकोले अब भ्रष्टाचार नियन्त्रणमा कडा हुनुपर्नेमा उनले जोड दिए ।