
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले वर्षौंदेखि किसानलाई दूधको पैसा नदिएर ज्यादती गरेको बताएका छन् ।
किसानले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगलाई दूध बेचेको करिब ५ अर्ब रुपैयाँ पाउन बाँकी रहेको भन्दै उनले पैसा पाउन के गर्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् ।‘किसानले के गर्ने फा्रन्समा जस्तो ट्याक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लेराएर सडकमा छोड्नुपर्ने हो कि, के गर्यो भने न्याय पाउँछन् ?’ उनले प्रश्न गरे ।
किसानहरुले भिख मागेको नभई पसिनाको मूल्य खोजेको भन्दै सांसद बास्कोटाले थपे, ‘यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’
सरकार र मन्त्री पटक पटक फेरिँदा पनि किसानको समस्या ज्यूँका त्यूँ रहेको भन्दै उनले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो भन्ने प्रश्न गरेका छन् । ‘जनताको सरकार होइन, जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ?’ उनले सोधेका छन् ।
एउटै वडामा दूधबापत किसानले ६ करोड रुपैयाँ भन्दा बढी लिन बाँकी रहेको भन्दै सांसद बास्कोटाले प्रधानमन्त्री, अर्थमन्त्री र कृषिमन्त्रीसँग जवाफ मागेका छन् । ‘यसमा सरकारको दृष्टिकोण के हो प्रधानमन्त्रीको कुरा के हो अर्थमन्त्रीको कुरा के हो कृषिमन्त्रीको कुरा हो ?’
अहिले किसानसँग मल, बीउ किन्न र घरायसी खर्च धान्ने रकम पनि नभएको तर सरकार रमिता हेरिरहेको उनले बताए । ‘यस्तो रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन ? म सरकारलाई सोध्न चाहन्छु’, सांसद बास्कोटाले भने ।
दुग्ध विकास संस्थानमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ११५२ मेट्रिक टन धुलो दूध र ८५० मेट्रिक टन मखन मौज्दात रहेको आँकडा सुनाउँदै उनले त्यसलाई बिक्री गर्न सकेमा किसानको पैसा भुक्तानी गर्न सकिने बताए ।
त्यसका लागि संस्थानमा व्यवस्थापकीय सुधारमा सरकारले ध्यान दिनुपर्ने सांसद बास्कोटाको भनाइ छ ।
‘दुग्ध विकास संस्थानको समस्या के हो त्यसको क्षमता विकासको कुरा के हो, स्टोरेजको कुरा, वितरण प्रणालीको कुरा के हो, कर्मचारी नियुक्ति र अधिक दरबन्दीको कुरा के हो ?’, उनले सोधे ।
डीडीसीमा मौज्दात रहेको दुग्धजन्य पदार्थ नेपाली सेना र नेपाल प्रहरीलाई बिक्री गर्न सकिने, चकलेट उद्योगमा दिन सकिने सम्भावना पनि हेर्नुपर्ने सांसद बाँस्कोटाले बताए ।
नेपालमै उत्पादित दूधले नेपालमा पुग्छ भने दुग्धजन्य पदार्थ आयातमा रोक लगाउनुपर्ने भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
किसानको दूधको पैसा दिन निजी क्षेत्र पनि गैरजिम्मेवार हुन नमिल्ने उनले बताए । ‘उसले पनि हलो हड्काएर गोरु पड्काउन पाउँदैन नाफा चाहने त्यसमा लगानी गर्ने निजी क्षेत्र पनि बेखबर बस्न मिल्दैन’, सांसद बास्कोटाले भने ।