ठगीको ठूलो हिस्सा बागमती प्रदेश र काठमाडौं उपत्यकामा
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आव २०७८/७९ यता सहकारी ठगीमा प्रहरीले लगेका २ सय १२ मध्ये काठमाडौं उपत्यकाबाट मात्रै १ सय ९ मुद्दा अदालतम छ ।
ती मुद्दामा कुल १४ अर्ब ८६ करोड ६० लाख बराबर बिगो मागदाबी भएको प्रहरी तथ्यांक छ । त्यस्तै बागमती प्रदेशबाट थप १५ मुद्दा लगेको प्रहरीले ५५ अर्ब ४१ करोड बराबर बिगो मागदाबी गरेको छ ।
काठमाडौं उपत्यकाबाट लगिएको मुद्दामा १ सय ६८ जना प्रतिवादी पक्राउ पर्दा पक्राउ पुर्जी जारी भएका ७ सय ८० जना फरार छन् । बागमती प्रदेशमा थप २५ जना पक्राउ र ७८ जना फरार रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
कोसी प्रदेशमा २०७८/७९ देखि चालु आव वैशाखसम्म प्रहरीले सहकारी ठगीका २३ मुद्दा अदालत लगेको छ । ती मुद्दामा १ अर्ब ५३ करोड ८७ लाख बिगो दाबी हुँदा ५८ जनालाई पक्राउ परेका छन् । ८० प्रतिवादी भने फरार छन् ।
मधेश प्रदेशमा यस अवधिमा २५ सहकारी ठगीका मुद्दा प्रहरीले लगेको छ । कुल १ अर्ब ५३ करोड ९१ लाख ठगी भएको उक्त मुद्दामा ३८ जना पक्राउ पर्दा १ सय ५२ जना फरार रहेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशमा यस अवधिमा प्रहरीले १५ सहकारी ठगी मुद्दा अदालत लगेको छ । ती मुद्दामा ५ अर्ब ३५ करोडको बिगो मागदाबी भएको प्रहरीले जनाएको छ । जसमा ६८ प्रतिवादी पक्राउ पर्दा सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका १ सय ९१ जना फरार छन् ।
लुम्बिनी प्रदेशमा यस अवधिमा प्रहरीले अनुसन्धान गरी सहकारी ठगीका ११ मुद्दा अदालत लगेको छ । २२ करोड ५५ लाख ठगी भएका उक्त मुद्दामा ३१ जना पक्राउ पर्दा ८० जना फरार छन् ।
कर्णाली प्रदेशमा समेत प्रहरीले यस अवधिमा पाँच सहकारी ठगी मुद्दा अदालतमा पुर्याएको छ । १५ करोड ८७ लाख बराबर ठगी भएको उक्त मुद्दामा चार जना पक्राउ पर्दा १९ जना फरार छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा यस अवधिमा नौ सहकारी ठगी मुद्दा अदालत गएका छन् । प्रहरीले गरेको अनुसन्धानमा उक्त मुद्दामा १ अर्ब ३२ करोडको बिगो मागदाबी भएको छ । प्रहरीले १९ जना पक्राउ गर्दा पक्राउ पुर्जी जारी भएका १७ जना फरार छन् ।
किन पक्राउ पर्दैनन् ?
अधिकांश सहकारी पीडितको गुनासो प्रहरीले सहकारी ठगीमा संलग्नलाई पक्राउ नगरी उन्मुक्ति दिएको भन्ने छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकले समेत पीडितको गुनासोलाई पुष्टि गरेको देखिन्छ । सहकारी ठगीमा पछिल्लो तीन वर्षमा १ हजार ८ सय जना मुछिँदा जम्मा ४ सय जना पक्राउ परेका छन् । बाँकी १ हजार ४ सय भने पक्राउभन्दा बाहिरै छन् ।
पीडितले भने सहकारी ठगीमा जोडिएका अधिकांशजसो व्यक्ति राजनीतिक दलमा आबद्धदेखि स्थानीय तहका नेता र केन्द्रीय तहसम्म पहुँच भएका कारण पक्राउ नगरेको भन्ने आरोप लगाउँदै आएका छन् ।
प्रहरी चलाएको मुद्दा विवरण हेर्दा पनि सांसददेखि मेयर, जनप्रतिनिधि र राजनीतिक ‘कनेक्सन’ जोडिएकाहरूको विवरण देखिने गरेको छ । जसका कारण सहकारी ठगीमा जोडिएका अधिकांश व्यक्ति पक्राउबाट बाहिरै छन् ।
यता, प्रहरी प्रधान कार्यालयले भने पीडितको गुनासो स्वीकार्दैन । फरार रहेकामध्ये केहीले देश समेत छाडिसकेकाले पक्राउ गर्न समस्या भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।
‘कतिपयका हकमा रेड कर्नर नोटिस समेत जारी भएको छ । त्यति हुँदा पनि सम्बन्धित देशले सहयोग नगर्दा नेपाल ल्याउन सकिएको छैन । यसका केही कानुनी समस्या पनि छन्।