सुदूरपश्चिमका ५ जिल्लामा जाने सडक बन्द, जोखिममा रहेका बस्ती सारियो

1.3K
shares

लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवार पहिरोको जोखिममा परेका कारण उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत थापाले थलारा गाउँपालिकाको झ्याँबगर भन्ने ठाउँमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताए ।

निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।