
संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नयाँ सरकार गठनका लागि अझै केही दिन लाग्ने छ ।
एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएनन्, संसद सामना गर्ने निर्णय लिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले २८ असारमा संसदमा विश्वासको मत लिने कार्यसूची छ ।
त्यो दिन उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत (१३८ सांसद) नभए उनी स्वतः पदमुक्त हुनेछन् । त्यसपछि बल्ल नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेको नेपाली कांग्रेसमा भने मन्त्रीका आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ ।