स्पेन युरोकपको फाइनलमा : फ्रान्स २-१ पराजित

1.22K
shares

स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ।

बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे।

त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए।

त्यसपछि २१ औं मिनेटमा स्पेनका ल्यामिन यमलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

२५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि पहिलो हाफमा फ्रान्स पछि परेको थियो।

दोस्रो हाफमा कुनैपनि गोल नहुँदा स्पेन विजयी भएको हो।

जारी युरोकपमा स्पेन अपराजित छ।

समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै समूह विजेता बनेर स्पेन अन्तिम १६ मा पुगेको थियो।

अन्तिम १६ मा जर्जियामाथि ४ गोल गर्दै क्वाटरफाइनलमा पुगेको थियो।

क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराउँदै स्पेनले सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो।

स्पेनले भोलि हुने इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ।

युरोकपको फाइनल खेल जुलाई १५ मा हुनेछ।