सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका थिए ।
संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बिहीबार प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए । त्यो छलफलपछि प्रमुख सचेतक परियारले सभामुखलाई भेटेर ‘यो विषय र प्रक्रिया के हो’ भनेर सोधेका थिए । सभामुख घिमिरेले आफूलाई विस्तृत थाहा नभएको, तर विषय गम्भीर रहेको बताएका छन् ।
स्रोतका अनुसार उपसभामुखको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएका छन् । सत्तारुढ दलका एक नेताका अनुसार यो विवाद यत्तिकै नटुंगिन सक्छ, किनकि उपसभामुखको संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था छ ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले तीन दिन अगाडि आफूकहाँ उजुरी आएको र यसबारे सभामुख तथा संसद्का महासचिवसँग छलफल गरेको बताए । यो उपसभामुखसँँगै रास्वपाका लागि प्रश्न भएको बताए ।
पत्र लेखेको हुँ, गलत नियत छैन
उपसभामुख रानाले भने आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छन् । उनका अनुसार उपसभामुख भएपछि कोही परियोजना माग्ने आउँथे, कोही सिफारिश । त्यसक्रममा चिनजानका (रास्वपा झापाका नेता) उपेन्द्र गौतम अमेरिकी दूतावासले लिने अन्तर्वार्ताका लागि समय सार्न पत्र लेखिदिन आग्रह गर्दै आए ।
‘मैले सिफारिश गरेको होइन, प्रि डेटका लागि यो कार्यक्रममा जाने हो भनेर पत्र लेखेको हुँ’ उनले भनिन्, ‘म आफैं जाने कार्यक्रम थियो । नेपालीहरू पनि जान पाउँदा केही सिक्लान् भन्ने मात्र सोचें।’
तर डेढ वर्ष पछाडि पत्र सार्वजनिक गरेर अहिले किन प्रश्न उठाइँदैछ भन्ने आफूले नबुझेको उनले बताइन् । उपसभामुखका रुपमा राम्रै काम गरेको छु जस्तो आफूलाई लागेको भन्दे उनले भनिन्, ‘अहिले राजनीतिक संकट छ । संकटकै बेला डेढ वर्ष अघिको विषय किन उठाएको हो, मैले बुझ्न सकेको छैन ।’












