पाल्पा र काठमाडौंमा भारी वर्षा, नदी किनारमा सतर्कता अपनाउन आह्वान

  • पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    यसैगरी स्याङ्जाको पञ्चमुलमा ८०.२ र पश्चिम नवलपरासीको देउरालीमा ७१.६ मिलिमिटर वर्षा भएको छ ।

    काठमाडौंका कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ ।

    बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।

    विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ ।

    सिन्धुपाल्चोकको बाँसखर्क केन्द्रमा पछिल्लो ६ घण्टामा ४७ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation