देश छोडेर भागिन् बंगलादेशी प्रधानमन्त्री शेख हसिना

  • पदबाट राजीनामा दिएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी छन् । ढाकामा ठूलो संख्यामा मार्च पास गरेका हजारौं प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवासतिर आएको खबर पाएपछि प्रधानमन्त्री हसिना बहिनीसहित सुरक्षित स्थानमा गएकी हुन् । ढाका ट्रिब्युनका अनुसार सोमबार दिउँसो साढे २ बजे एक सैन्य हेलिकोप्टरमा चढेर उनी बंग भवनबाट निस्केकी थिइन् । उनी भारतको पश्चिम बंगाल पुगेको बताइएको छ ।
    स्थानीय मिडियाका अनुसार, बंगलादेशका सेना प्रमुख जनरल वेकर उज जमानले वर्तमान विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)सहित प्रमुख राजनीतिक दलसँग वार्तापछि राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
    राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।

    अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।
    प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।

    बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन ।
    बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।

    आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ ।

    प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ बताएको प्रतिक्रिया दिएकी थिइन् ।

    तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation