यसरी सत्ताच्युत हुन पुगिन् शेख हसिना

  • शेख हसिना संसारमै सबैभन्दा लामो समय शासन गर्ने महिला प्रधानमन्त्री हुन् । दुई दशकभन्दा लामो समय उनले बंगलादेशको सत्ता सम्हालिन् ।
    विद्यार्थी आन्दोलनका कारण उनी सत्ताच्युत हुन पुगिन् । गत महिना सुरु भएको आरक्षविरोधी प्रदर्शन उनको बहिर्गमनमा प्रमुख कारण देखिए पनि सहायक कारण अरु पनि छन् । पछिल्लो समय उनमा बढेको सर्वसत्तावादलाई सत्ताबाट हात धुनुपर्नाको प्रमुख सहायक कारण मानिएको छ ।

    कुनै बेला विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा आएकी उनलाई अहिले विद्यार्थीले पद मात्र होइन, देशै छोड्न विवश पारेका छन् । ५ पल्ट बंगलादेशको प्रधानमन्त्री बनिसकेकी हसिना सोमबार देशै छोडेर भाग्न बाध्य भइन् । सोमबार दिउँसो उनी आफ्नी बहिनीलाई लिएर सेनाको हेलिकोप्टरमार्फत भारत पुगेकी छन् । उनले देश छोडेकोमा राजधानी ढाकाका सडकमा प्रदर्शनकारीले खुसी मनाइरहेका छन् ।
    हसिना बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी जेठी छोरी हुन् । १९४७ सेप्टेम्बर २८ मा जन्मेकी उनी १९८१ फेब्रअरी १ट देखि अवामी लिग पार्टीकी अध्यक्ष छिन् । हसिनाको सुरुवाती जीवन पूर्वी बंगालको तुंगीपाडामा बितेको थियो । उनले विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेकी थिइन् । हसिनाले बुबाको पार्टी अवामी लिगको विद्यार्थी संगठनको अध्यक्ष पनि बनेकी थिइन् ।
    पाकिस्तानबाट स्वतन्त्र भएको चार वर्षपछि १९७५ मा बंगलादेशमा सैन्य कु भयो, जसमा हसिनाकी आमा, उनका तीन भाइ र बुबा शेख मुजिबुर रहमान मारिए ।
    हसिना, उनका श्रीमान वाजिज मियाँ र बहिनी जर्मनीमा भएकाले जोगिए । उनीहरूलाई देश फर्किन सैन्य सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसैले भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले हसिनालाई शरण दिइन् । दिल्लमा हसिनाले करिब ६ वर्ष बिताएन् ।

    सन् १९८१ मा अवामी लिगको अध्यक्ष बनेपछि हसिना स्वदेश फर्किइन् । उनका बुबाका सपना थियो, ‘हमार बांग्ला सोनार बांग्ला’ । यही सपना साकार गर्ने कसम खाएर हसिना राजनीतिमा पूर्णकालीन भएकी थिइन् ।
    सन् १९९६ मा भएको आमचुनाव जितेर हसिना पहिलोपल्ट प्रधानमन्त्री बनेकी थिइन् । तर, २००६ को चुनाव हारिन् । यसपछि अर्को चुनावका मुखमा सेनाले सत्ता हातमा लियो ।
    सैन्य सरकारले हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दामा दुई वर्ष जेल हालेको थियो ।

    दुई वर्ष जेल बसेर सन् २००८ मा उनी छुटिन् । सोही साल डिसेम्बरमा भएको चुनावमार्फत हसिना दोस्रोपल्ट प्रधानमन्त्री बनिन् ।
    त्यसयता उनी सत्ताबाहिर छैनन् । तर, उनको व्यवहार भने फेरिएको छ । एक समय लोकतन्त्रका खातिर जीवन हत्केलामा राखेकी हसिनाले लोकतन्त्रलाई नै रेट्ने प्रयास गरेको आरोप लाग्दै आएको छ ।
    विपक्षी दलले बहिष्कार गरेको सन् २०१४ को विवादित चुनावमार्फत उनी तेस्रोपल्ट प्रधानमन्त्री बनेकी थिइन् । त्यो बेला अन्तर्राष्ट्रिय समुदायले उनको आलोचना गरेका थिए । उनलाई चौथोपल्ट प्रधानमन्त्री बनाएको सन् २०१८ को चुनाव पनि निर्विवाद थिएन । हसिना पक्षले धाँधली गरेको आरोप विपक्षीले लगाएका थिए । तर हसिनाले त्यसलाई पूर्णतः बेवास्ता गरिन् । जनवरी २०२४ मा भएको आम चुनाव पनि विवादित बनेको थियो । प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निष्पक्षताको प्रश्न उठाउँदै चुनाव बहिष्कार गरेको थियो । पहिलाजस्तै विपक्षीको बहिष्कारले हसिनालाई केही फरक परेन । विवादित चुनावपछि फेरि उनी प्रधानमन्त्री बनिन् । उक्त निर्वाचनको विश्वसनीयतालाई लिएर अन्तर्राष्ट्रिय जगतबाट पनि प्रश्न उठेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation