प्रज्ञा भवन र राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सव आयोजना हुने

  • नेवार संस्कृतिबाट सुरू भएको गाईजात्रा काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व एवम् जात्रा हो । नेपाली समाजमा गाईजात्राको अवसरमा सडक, मञ्च विभिन्न माध्यमबाट व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

    ‘गाईजात्रा’ नजिकिँदै गर्दा हाँस्य कलाकारको चटारो बढेको छ । उनीहरू गाईजात्राका लागि डिजिटलदेखि भौतिक कार्यक्रमको तयारीमा व्यस्त छन् ।

    ‘गाईजात्रा’ मौलिक पर्व हो । कलाकारले यो पर्वलाई मनोरञ्जनात्मक कार्यक्रम गर्ने मञ्चका रूपमा लिने गर्दछन् । उनीहरू वर्षभरिका राजनीतिक, सामाजिक, आर्थिक लगायत हरेक विकृति, विसङ्गतिप्रति खुलेर व्यङ्ग्यको झटारो हान्छन् । गाईजात्रालाई वाक् स्वतन्त्रताको रूपमा समेत लिइन्छ ।

    आगामी भदौ ४ गते गाईजात्रा पर्व परेको छ । यो दिनलाई लक्षित गर्दै केही कलाकारले डिजिटलमा गाईजात्रे कोसेली सार्वजनिक गरिरहेका छन् भने कतिपय कलाकार भौतिक रूपमै कार्यक्रम गर्ने तयारीमा छन् । यतिबेला दुई दर्जनभन्दा बढी कलाकार ‘गाईजात्रा’को तयारीमा छन् ।

    एक समूहको ‘गाईजात्रा महोत्सव २०८१’ राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ भने अर्काे समूहले ‘एकासीको गाईजात्रा’ कार्यक्रम प्रज्ञा भवनमा आयोजना गर्दैछ ।

    प्रज्ञा भवनमा आयोजना हुने ‘एकासीको गाईजात्रा’को नेतृत्व वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले गर्दैछन् । यो समूहमा शैलेन्द्र सिंखडा, सुवोध गौतम, साजन श्रेष्ठ, मेक्सम गौडेल, चक्र दवाडी, सीता न्यौपाने, आशिष खनाल, पर्वत लामा, यमन श्रेष्ठलगायत कलाकार छन् । गाईजात्रा भदौ १ गतेदेखि ७ गतेसम्म चल्नेछ । त्यस्तै, नाचघरमा आयोजना हुने ‘गाईजात्रा महोत्सव २०८१’को नेतृत्व कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गरेका छन् । उनको टिममा कुञ्जना घिमिरे, सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, राजाराजेन्द्र पोखरेल, दिनेश काफ्ले, सन्तोष खनाल, सुयसा खनाल, हिमेश पन्त लगायत छन् । यो टिम पनि अहिले कन्टेन्ट लेखनमै व्यस्त रहेको कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले बताए ।
    यो समूहको कार्यक्रम भदौ ३ देखि १० गतेसम्म चल्नेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation