
देशभर विभिन्न कार्यक्रम गरी आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथमा आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । यस अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कार्यक्रम गर्दैछ ।
सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।
नेपालमा यो दिवस मनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको थियो । दिवस साताव्यापी रुपमा मनाउने क्रममा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम पनि गरिएको थियो ।