ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु

  • पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन् । महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।
    डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation