इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु

  • इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागरिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
    इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायल नियन्त्रित गोलन हाइट्समा करिब दुई साताअघि गरिएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका र किशोरकिशोरीको ज्यान गएको थियो । जसका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको जवाफमा इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरी हेजबोल्लाहका कमाण्डरको हत्या गरेको थियो । हेजबोल्लाहले हमास नेता इस्माइल हानियाको हत्याको इजरायलसँग बदला लिने बताउँदै आएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच शुक्रबार हुने भनिएको युद्धविराम वार्ता रोकिएको अर्को दिन इजरायलले हेजबोल्लाहलक्षित आक्रमण गरेको हो । दुई पक्षबीचको वार्ता एक सातपछि हुने जनाइएको छ ।

    विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता उक्त क्षेत्र निकै तनावग्रस्त छ । उक्त आक्रमणमा करिब १३ सय जना मारिएपछि क्रुद्ध इजरायलले त्यसयता प्यालेस्टाइनमा आक्रमण जारी राखेको छ । जसका कारण दश महिनाको अवधिमा ४० हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमध्ये अधिकांश महिला र बालबालिका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation