![](https://newsinnepal.com/wp-content/uploads/2024/08/Guru-Brahma-1-1.jpg)
दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा वार्ताका नाममा विद्यार्थी नेताहरूले क्याम्पस प्रमुख र निमित्त क्याम्पस प्रमुखलाई बन्धक बनाएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामबहादुर केसीले भने वार्ताका नाममा विद्यार्थी नेताहरूले दुई दिनदेखि पदाधिकारीहरूलाई बन्धक बनाएको बताए। बाहिर निस्किन नदिएको भन्दै सहायता मागेपछि भने उद्धारका लागि प्रहरी खटाइएको उनले बताए।
‘उद्धार गर्न सिडिओसाब लगायतलाई आग्रह गरिरहेको समयमा पुगेको प्रहरीलाई समेत प्रवेश गर्न दिइएन। मध्यराति ढोका थुनेर वार्ता नगर्नुस्, बिहानपख गर्नुस् भनेर सम्झाउँदा नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ उनले भने, ‘त्यही क्रममा आपसमा ठेलमठेल हुँदा प्रहरीले लाठीचार्ज गर्नु परेको र त्यसबाट केही विद्यार्थी समान्य घाइते भएको भन्ने छ।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले जिल्लाको आदेशपछि आफू राति १० बजेतिर क्याम्पस पुगेको बताए। उनी क्याम्पस पुग्दा आठ(दश जना विद्यार्थी ढोका बाहिर थिए भने कोठाभित्र वार्ता भइरहेको अवस्था थियो।
डिएसपी पोख्रेलले धेरै पटक ढोका खोल्न आग्रह गर्दा पनि कसैले ढोका खोल्न मानेका थिएनन्।
‘मैले केही विषयमा असहमति भए भोलि बिहान वार्ता गर्नु अहिले ढोका खोल्नुस् भन्दा पनि कसैले ढोका खोलेनन्,’ उनले भने, ‘त्यसपछि ढोकाको चुकुल तोडेर क्याम्पस प्रमुख अधिकारी र क्षेत्रीलाई उद्धार गरिएको हो।’