प्रदीप गिरिका विचारहरु सधैँ अमर रहनेछन् : डा. डिला संग्रौला

  • नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले स्वर्गीय प्रदिप गिरीले व्यक्त गर्नुभएको विचार र अवलम्वन गर्नुभएको बाटो आजको दिनमा अपरिहार्य भएको बताएकी छिन् ।

    नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको समाजवादी चिन्तक स्व.प्रदिप गिरीको स्मृतिमा ‘प्रजातान्त्रिक समाजवाद ः वर्तमान र भविष्य विषयक अन्तरक्रियामा डा.संग्रौलाले प्रदिप गिरीबाट व्यक्त विचारहरु सँधै अमर रहने बताइन् ।

    उनले भनिन्,‘कुनै संघसंस्थामा होस या पार्टीभित्र जनताको पीरमर्काको सम्बोधन हुनुपर्छ भनेर जनताको प्रिय हुनुहुन्थ्यो प्रदिप गिरी । महिलाहरुलाई नेतृत्वमा आउनुपर्छ भनेर समावेशीको पक्षमा हुनुहुन्थ्यो । युवाले पार्टी हाँक्नुपर्छ र अग्रज बौद्धिक वर्गले दिएको विचारलाई पार्टी र सरकारले आत्मसाथ गर्नुपर्छ भन्नुहुन्थ्यो । समग्र नेपाली जनताको आवाज सुन्दा उहाँ नेपालीको अभिभावक हुनुहुन्थ्यो । उहाँलाई सम्झिदै विचार मन्थन गर्ने बेला आएको छ ।’

    डा. संग्रौलाले विचार र दर्शन दिनसक्ने मान्छे सँधैका लागि अमर रहने भएकाले उहाँप्रति सम्मान व्यक्त गर्नुपर्छ भनिन् । ‘गिरी जस्ता व्यक्तिहरु भौतिक रुपमा मरेपनि विचारका रुपमा कहिल्यै मर्दैनन् । आजको समाजवाद भनेको महिलाको मुक्ति हो, युवाले मुलुकभित्रै रोजगारी पाउनुपर्छ भन्ने हो, अस्पतालको विरामीले उपचार पाउनुपर्छ अर्थात संविधानले व्यवस्था गरेको मौलिक हकमा भएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्छ भन्ने हो । किसानले समर्थन मूल्य पाउनु नै समाजवाद हो,’ उनले भनिन् ।

    आजको समाजवादमा वीपी कोइरालाले आत्मसाथ गर्नुभएको विचारमा जस्तो हुनुपर्ने भन्दै उनले भनिन्,‘गिरीको विचारमा बीपीभित्र गान्धीवाद, माक्र्सवाद, समाजवाद र यथार्थवादको समिश्रण भएकाले सोही अनुसारको विचारलाई सम्मान गर्नुपर्छ ।’

    नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा सांसद डा.चन्द्र भण्डारी, प्राध्यापक कृष्ण खनाललगायतले मन्तव्य राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation