
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीले सुरु गर्न लागेको ‘जनतासँग जसपा नेपाल’ आधारभूत सङ्गठन निर्माण अभियान राजनीतिक र साङ्गठनिक अभियान भएको बताएका छन् ।
बस्नेतले पार्टीको एकता महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र केन्द्रीय समितिको बैठकले गरेका राजनीतिक निर्णयहरु लिएर जनतामाझ जान लागिएको बताएका हुन् ।
पार्टीले गरेका निर्णयहरुलाई जनताबाट अनुमोदन गराउने र जसपा नेपाललाई जगैदेखि बलियो पार्टीको रुपमा स्थापित गराउने लक्ष्य लिएर अभियान थालिएको उनले बताए ।
‘राजनीतिक रुपमा वैकल्पिक र साङ्गठनिक रुपमा सशक्त पार्टी निर्माणका लागि अभियान सुरु गरिएको छ । यो राजनीतिक र साङ्गठनिक अभियान हो,’ बस्नेतले भने।
जसपा नेपालले भदौ ९ गते काठमाडौंबाट चार महिने सङ्गठन निर्माण अभियानको उद्घाटन गर्न लागेको छ ।