‘नरसिंहाः अवतार’ मा नायक राज कटुवाल अनुबन्धित

  • क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन्।

    निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् ।

    कलाकाको बलियो लाइनअप तयार भएको फिल्ममा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रबार अनुबन्धित भएका हुन् । उनी ‘नरसिंहाः अवतार’ मा जोडिएसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । निर्माणपक्षले यो फिल्ममा यी सबै जना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा कुनै जानकारी खुलाइएको छैनन् ।

    फिल्मको एक मुख्य पात्रमा राजलाई अनुबन्धित गराएसँगै निर्देशक भट्टराईले यस फिल्मबाट एक एउटा राम्रो नायकको जन्म हुने आशा व्यक्त गरे । कटुवालले यो फिल्ममा जोडिन पाउँदा अत्यन्तै खुसी रहेको व्यक्त गरे।

    ’आफूले काम गर्दै आएको क्षेत्रमा कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो’, उनले भने, ’निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको । फिल्मकालागि गर्नु भएको विश्वास मैले पुरा गर्ने छु ।’

    यही फिल्मबाट आठ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतीक्षित बन्ने निश्चित छ ।

    यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन् ।

    यस्तै, निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । फिल्म यही भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो फिल्मको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation